साहित्य

‘प्रेक्षित’का चार कृति प्रकाशित

२२ जेठ,काठमाडौँ, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’का एकैसाथ चार कृति प्रकाशन भएका छन् । उपाध्यायका ‘आरम्भ’ हाइकुसङ्ग्रह, ‘म, माटो र मुटु’ कवितासङ्ग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ शीर्षक दुई समालोचनासङ्ग्रह प्रकाशन भएका हुन् ।
हाइकुसङ्ग्रहमा २११ हाइकु समाविष्ट छन् । समसामयिक राजनीतिक एवम् सामाजिक विषय परिवेशमा आधारित भई विसं २०४९ देखि २०७५ का अवधिमा रचित हाइकुमध्येबाट छनोट गरी सङ्ग्र्रहमा समावेश गरिएको जनाइएको छ । त्यस्तै कवितासङ्ग्रहमा राष्ट्रप्रेम, देशको साँधसिमाना, राजनीतिका साथै सामाजिक संरचना आदि विषयमा रचिएका ४० कविता समावेश गरिएका छन् ।
यसै गरी समालोचनात्मक कृति ‘काव्य परिशीलन’मा विभिन्न समयमा लेखिएका ‘छन्दसिद्धान्त र नेपाली छन्दकविता परम्परा’ लगायत अनुसन्धानपरक १२ समालोचना समाविष्ट छन् । उक्त कृतिमा नेपाली कवितामा मध्यपश्चिम क्षेत्रको इतिहास र योगदानको विहङ्गम समालोचना गरिएको छ । दैलेखी न्याउला गीतमा सामाजिक चेत, दुल्लु क्षेत्रमा प्रचलित भैनीका साथै सबै प्रकारका कवितासँग सम्बन्धित अध्ययन ‘काव्यपरिशीलन’मा समेटिएका छन् ।
‘आलोचनात्मक भूमिकाहरू’ विभिन्न समयमा विभिन्न स्रष्टाका कृतिमाथि लेखिएका २१ भूमिका एवम् समीक्षाको सङ्ग्रह हो । सबै कृति मकालु प्रकाशन गृहद्वारा प्रकाशन भएका हुन् ।