गण्डकी प्रदेश

मनाङमा देखा पर्‍यो सेतो हिमाली गिद्ध

२२ जेठ, ‘मनाङ । सेतो हिमाली गिद्ध मनाङ’मा देखा पर्न थालेको छ । सो प्रजातिको गिद्धलाई विश्व संरक्षण सङ्घ (आइयुसिएन)ले सन् २०१७ मा लोपोन्मुख पंक्षी बर्गमा राखेको थियो ।
विश्वमा २३ प्रजातिका गिद्ध पाइने भए पनि नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । खैरो गिद्धबाहेक अन्य आठ प्रकारका गिद्धलाई नेपालमा लोपोन्मुखको सूचीमा समावेश गरिएको छ ।

नेपालका प्रसिद्ध पंक्षीविद हेमसागर बरालले घरपालुवा चौपाया बिरामी परेको अवस्थामा उपचारगर्दा डाइक्लोफिनाक लगायत एनएसएआइडीजस्ता औषधिको प्रयोग गरिनु नै गिद्ध लोप हुनुको मुख्य कारण भएको बताए ।

ती औषधिको प्रयोग गरी उपचार गरेका गाईबस्तु एक/दुई हप्ता नबित्दै मरेको खण्डमा त्यसरी मरेका गाईबस्तुको सिनो खाएपछि यात गिद्ध मर्ने वा अन्यत्र सर्ने गर्छन् । यसले गर्दा नेपालमा गिद्धको सङ्ख्या घट्दै गएको उनले बताए ।

गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा लिइन्छ । यसले मरेका र सडेगलेका सिनो खाइदिँदा दुर्गन्ध र त्यसबाट उत्पन्न रोगव्याधीबाट मानिसलाई सुरक्षित बनाउने काम गर्छ । लामो समयको बन्दाबन्दीका कारण वातावरणमा देखा परेको परिवर्तनसँगै ती जातका गिद्धहरु आहाराको खोजीमा यहाँ आइपुगेको विज्ञहरु बताउँछन् ।

यसैगरी गिद्धलाई आहाराको कमी हुनाका साथै यसलाई बसोबास र बच्चा उत्पादनका लागि आवश्यक पर्ने वनजङ्गलमा आवश्यक पर्ने सिमलका रुख मासिनुले पनि यिनीहरु बसाइँ सर्ने गर्छन् । यसको वासस्थान कमी भएपछि बसाइँ सर्नाले पनि यो गिद्ध लोप हुँदै गएको मानिन्छ ।

आजकाल भने हिमाली प्रजातिका गिद्ध करिब १०० को सङ्ख्यामा एउटै समूहमा आहाराको खोजी गर्दै आउन थालेका समूहमा भेटिने गरेको छ । नेपाललाई सबैभन्दा धेरै प्रजातिको गिद्ध एकै स्थानमा पाउने मुलुकको सूचीमा समेटिएको छ भने एसियामा १६ प्रजातिका र उत्तर र दक्षिण अमेरिकामा सात प्रजातिका गिद्ध पाइन्छन् । भेटिएकामध्ये अधिकांश पाँच वर्षमुनिको रहेको चरा विज्ञ बरालको भनाइ छ । गिद्धको सरदर आयु ५० वर्षको हुने उनले बताए ।