राजनीति

राष्ट्रिय एकताको सवालमा दायाँ–बायाँ र किन्तु–परन्तुलाई ठाउँ हुन्नः कांग्रेस

२२ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय एकताको सवालमा दायाँ–बायाँ र किन्तु–परन्तुलाई कुनै ठाउँ नहुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नक्साको पक्षमा सम्पुर्ण नेपालीको एक ढिक्का मतदानले रास्ट्रीय एकता मजबुत हुने भन्दै यसमा दायाँ–बायाँ र किन्तु–परन्तुलाई ठाउँ नहुने स्पष्ट पारेका छन् ।

प्रवक्ता शर्माले विग्रिएका कुरा बनाउने सवालमा कांग्रेस विगत र वर्तमान जहिले पनि मध्यमार्गि रहेको र रहने बताएका छन् । उनले संशोधनका अन्य प्रस्ताव ब्यक्ती या दलका स्वभाविक हक भएको पनि बताएका छन् ।

देश र प्रदेशको फरक सिमालाई एउटै बास्केटमा राखेर कांग्रेसले नहेर्ने उनको भनाई छ । यसअघि कांग्रेसले संविधान संसोधनका लागि संसदमा प्रस्ताव दर्ता पनि गरिसकेको छ । 

उनको ट्वीटः नक्साको पक्षमा एक ढिक्का मतदानले राष्ट्रिय एकता मजबुत हुनेछ । यसमा दायाँ–बायाँ र किन्तु–परन्तुलाई ठाउँ हुन्न । संशोधनका अन्य प्रस्ताव ब्यक्ती या दलका स्वभाविक हक हुन् । कांग्रेस मध्यमार्गी थियो र रहन्छ । हामी देश र प्रदेशको फरक सिमालाई एउटै बास्केटमा राखेर हेर्दैनौं । जय नेपाल !