समाचार

इञ्जीनियरलाई अनुमति (लाइसेन्स) परीक्षा लिने व्यवस्था गर्न माग

२२ जेठ काठमाडौं । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बैठकमा इञ्जीनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ बारे सरोकार भएका निकायसँगको छलफल शुरु भएको छ ।

बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकलाई समृद्ध र प्रभावकारी बनाउन सरोकार भएका निकायसँग छलफल थालेको बताएका छन् । सरोकार भएका निकाय र विज्ञसँगको वृहत छलफलपछि परिमार्जित गरी विधेयक पारित गरिने उनले बताए ।

समितिले नेपाल इञ्जीनियर्स एशोसिएसनसँग बुधबार छलफल गरेको हो । एशोसिएसनका अध्यक्ष त्रिरत्न मानन्धरले इञ्जीनियरलाई अनुमति (लाइसेन्स) परीक्षा लिनुपर्ने व्यवस्था हुनैपर्नेमा जोड दिएका छन् ।

एशोसिएसनका उपमहासचिव कपिल आचार्यले इञ्जीनियरसँगै सवइञ्जीनियर र परामर्श दातालाई पनि अनुमति (लाइसेन्स) परीक्षाको व्यवस्था गरिनुपर्ने माग राखेका थिए । बैठकमा बोलेका समितिका सदस्य सांसदले पनि इञ्जीनियरलाई लाइसेन्स परीक्षा लिने व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।