प्रदेश 2

प्रदेश नं २ मा आज सम्म पुगे ८५९ सङ्क्रमित

२१ जेठ, जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ जना, पर्सामा सात जना, सप्तरी र सिरहामा एक/एक जना गरी ४४ जना नयाँ सङ्क्रमित थपिएको हो ।

जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्वाबको परीक्षणका लागि जडान गरिएको रियल टाइम मेशिनबाट दुई दिनमा २४२ वटा स्वाबको नमूना परीक्षण गरिएकामा नौ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको सचिव डा घिमिरेले जानकारी बताए ।

स्वाब र क्वारेन्टिनको अवस्था

यस प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र पारिएको छ । आज अपराह्नसम्म ९७४ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । प्रदेशमा अहिलेसम्ममा १७ हजार ५२९ को स्वाबको नमूना सङ्कलन गरिएकामा १० हजार ६२३ को रिपोर्ट नेगेटिभ आएको छ र छ हजार ७० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अहिलेसम्म सात हजार ७४७ को आरडिटी परीक्षण गरिएकामा १०८ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

प्रदेशमा अहिलेसम्म ४०४ वटा क्वारेन्टिन सञ्चालनमा आएको र सो क्वारेन्टिनमा ३० हजार ७०६ वटा श्ययाको व्यवस्था गरिएको छ । यतिखेर, २३ हजार ३३३ जना क्वारन्टिनमा, छ हजार ३१ जना होम क्वारेन्टिनमा र ५८३ जना आइसोलेसनमा बसेका छन् ।