साहित्य

नआऊ कृत्रिम रङ्ग भर्न

                                -दुर्गाकिरण तिवारी                                               -कविता 

हृदयमा वेदनाको बिस्कुन लगाएर
बर्सौंदेखि खुसीहरूलाई वर्गीकरण गर्दै
अचानोको आहार बनाएर
भोग लगाउदै गरेकी एक पात्र
रहरहरू मेटिएर शून्यमा झरेको छ
तिम्रो हृदयलाई झंकृत पार्दै
प्रेमको शब्द भर्न जान्दिन म
भो नआऊ कृत्रिम रङ्ग भर्दै
रङ्गमञ्च सम्झी समय कटाउन
मायाको ढोङ रच्दै।

प्रेम मरेर हृदय बाँझिएको छ
वनमारा उम्रेर झ्याङ्गिदै फैलिएको छ
त्यसैले खुल्दैन हृदयको द्वार
झ्याङ्गिदैन प्रेमको लहरा फूल्दैन फूल
बसाउदैन मगमगी रातकी रानीझैँ
तिम्रो खुसीका लागि भनेर
त्यसैले प्रेमको रङ्ग भर्न जान्दिन म
नआऊ भो जवानीका कुरा गर्न
कृतिम रङ्ग भर्दै मात्र मन तन
भुलाउन मायाको ढोङ रच्दै।

जीवनका हिसाबकिताब बिगार्दै
अर्थहीन भावनामा रहरहरूका खाता
रित्याएर शून्य चेतमा भत्केका सपनाहरू
फेरि भर्न सक्दिन म
त्यसैले दुखाउन मुटु फेरि
छलछामका प्रेम देखाउदै संवेदना कुल्चिन
र प्रेमको ढोङ रच्दै क्षणिक रस भर्न जान्दिन
भो नआऊ कृतिम रङ्ग भर्दै
अनि प्रेमिल अभिनय गर्दै भो नआऊ
म अभिनयबाट टाढा भैसकेँ ।