आर्थिक

मेगा बैंकद्वारा गण्डकी विकास बैंकलाई प्राप्ति गर्न स्वीकृति

२१ जेठ, काठमाडौँ । मेगा बैंक नेपालको विशेष साधारण सभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

बुधबार काठमाडौंमा भएको विशेष साधारण सभामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गर्नका लागि गरेका प्रस्ताव पारित भएको हो । मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १ः१ रहेको छ । यी प्राप्ति पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताएका छन् ।

साधारण सभामा बोल्दै मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अभैm बढ्ने बताएका छन् । ग्राहकको विश्वास जित्दै प्रतिष्ठित ‘बैंक अफ दि एयर’ पुरस्कारबाट समेत सम्मानित भएको स्मरण गर्दै उनले मेगा बैंकको शाखा सञ्जाल प्राप्ति पश्चात् ५८ वटा जिल्लामा फैलने जानकारी दिएका छन् । यसैगरी, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंक मध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२औं आधारमा ११औं स्थानमा रहने सिइओ खुञ्जेलीले जानकारी दिएका छन् ।

उनका अनुसार, गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ भने निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी हुने भएको छ । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन् ।

यसै बीच, पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंकको पनि बुधबारकै दिन सम्पन्न विशेष साधारण सभाले समेत गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेका छन् । गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले यस प्राप्तिका लागि पेश गरेको प्रस्तावलाई विशेष साधारणसभाले पारित गरेको हो । ९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको छ ।

दुबै बैंकको विशेष साधारण सभाले स्वीकृति दिएसँगै मेगा बैंकलाई गण्डकी विकास बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको छ । यसै आर्थिक वर्ष भित्रमा गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको मेगा बैंकका अध्यक्ष शाहले जानकारी दिएका छन् ।