समाचार

बन्दाबन्दी, कृत्रिम अभाव र मूल्यवृद्धि

२१ जेठ, काठमाडौँ । बन्दाबन्दी जारी रहँदा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको भाउ बढेको छ ।

खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी बजारमा दाल, चामलदेखि अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ । मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारण उपभोक्तामाथि परेको छ ।
कतिपय बिक्रेताले बन्दाबन्दीलाई पैसा कमाउने अवसरका रुपमा प्रयोग गर्दा बजारमा समस्या देखिन थालेको हो । बजारमा खाद्यान्नको भाउ बढ्नुका कारण खुद्रा व्यापारीले थोक आयातकर्तालाई देखाउने गरेका छन् भने थोक आयातकर्ताले उद्योगबाट आउँदै भाउ बढेको बताएका छन् । कतिपय व्यापारीले सामान नै नआएको भन्दै अरु समयमा बेच्न नसकेको सामान बेचिरहेको पाइन्छ ।

ललितपुर इमाडोलकी रमिता विष्ट बजारमा सामान किन्न जाँदा आफूले भनेजस्तो नपाउने र पाइएको ठाउँमा पनि बढी भाउ लिने गरेको बताए । खासगरी चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न र साबुन, सरफ खरिद गर्दा यो समस्या आइरहेको छ । गत साता आफूले खोजेको कम्पनीको चाउचाउ नपाएकाले आफूले अर्को कम्पनीको किनेको उनले बताए । मङ्गलबार भने उहाँले धेरै पसल चाहारेर मूल्य १५ पर्ने चाउचाउ २० तिरेर किन्नुभयो । दुई महिना पहिले एक हजार ६०० मा किनेको चामल अहिले एक हजार ८०० मा किनेको उनले बताए। उनले भने, “के गर्नु दाल, चामल महँगो नै भए पनि किनेर खानैपर्‍यो ।”

बन्दाबन्दी जारी रहँदा तरकारीको मूल्य घटे पनि खाद्यान्न र फलफूलको मूल्य ह्वात्तै बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । तरकारीको मूल्य बन्दाबन्दीको शुरुको साताभन्दा ह्वात्तै घटे पनि अझै किसानले पाउने मूल्य र उपभोक्ताले किन्नेमा धेरै फरक रहेको उनले बताए । किसानले १०/१५ मा बेचेको तरकारी उपभोक्तालाई बजारमा अहिले पनि ४०/५० सम्ममा किन्नु परेको छ । स्याउ, अनारलगायतका फलफूलको मूल्य बढिरहेको छ । बन्दाबन्दीलाई बिचौलियाले कमाउने अवसरका रुपमा लिइरहेको उनको भनाइ छ । उनले भने, “यस्तो समयमा सरकारले बजारको प्रभावकारी अनुगमन गरेर कारवाही गर्नुपर्छ ।”

बन्दाबन्दीको समयमा आमउपभोक्ताले वस्तु छनोट गर्ने अधिकारबाट वञ्चित हुनु परिरहेको अध्यक्ष तिमल्सिनाले बताए । किराना पसलले उपभोक्ताले बढी खोज्ने सामान अहिले नआएको भन्दै महिनौँ थन्किएको सामान बेचिरहेका छन् । यो समयमा ब्राण्ड नै नभएको सामान र म्याद नाघेको सामान रिप्याकिङ गरेर बिक्री हुनसक्ने उनले बताए। बिक्रेता र उत्पादक दुवैको मिलेमतोमा अहिले कमसल सामग्रीको बिक्री हुनसक्ने सम्भावना रहेको छ । स्थानीय सरकारले खाद्यान्न पसल खोल्नका लागि थोरै समय तोकेकाले पनि बजारमा भीडभाड भइरहेको उनले बताए । उनले भने, “कतिपय पालिकाले दिनमा एक दुई घण्टाका लागि मात्रै बजार खोल्दा भीडभाड बढेको, यसले गर्दा सङ्क्रमण फैलने जोखिम छ ।”

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने नियमितरुपमा अनुगमन गरेर गल्ती भेटिएमा कारवाही भइरहेको जनाएको छ । विभागले उपभोक्तालाई गुनासो गर्नका लागि ११३५ नंको व्यवस्था गरेको छ । यो नम्वरमा खाद्यान्नमा मूल्यवृद्धिका गुनासो आइरहेको र त्यसकै आधारमा अनुगमन र कारवाही भइरहेको विभागका सूचना अधिकारी रवीन्द्र अधिकारीले बताए । बिक्रेतामार्फत होलसेलसम्म पुगेर अनुगमन गरिएको उनले बताए । बन्दाबन्दीको शुरुमा ६ महिनालाई पुग्ने खाद्यान्न छ भन्ने बिक्रेता अहिले दुई महिना नाघ्दा पहिलेको स्टक सकिएको र नयाँ सामानमा मूल्य बढेर आएको भनिरहेको उनले बताए । उनले भने, “त्यसैले हामीले बिक्रेतासँगै आपूर्तिकर्तालाई पनि कारवाहीको दायरामा ल्याइरहेका छौँ ।”

खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका पसल कुन कुन समयमा खोल्न दिने भनी नगरपालिकाहरुले फरक फरक समय तोकेका छन् । स्थानीय तहले त्यहाँको आवश्यकताअनुसार समय तय गरे पनि कतिपय उपभोक्ता र बिक्रेताको गुनासो विभागमा आइरहेको छ । भाटभटेनीलगायत सुपरमार्केटलाई लामो समय र अरुलाई किन कम समय भन्ने किसिमका गुनासो आउने गरेको निर्देशक अधिकारीले बताए । उनले भने, “हामीले यस किसिमका गुनासोहरु प्रशासन र स्थानीय तहसँग मिलेर सम्बोधन गरिरहेका छौँ ।”

विभागको ११३५ नम्वरमा बन्दाबन्दीको अवधिमा अहिलेसम्म एक हजार ५५ गुनासो आएको छ । तीमध्ये १६८ स्थानमा कारवाही गरिसकेको छ । चालू आवमा अहिलेसम्म एक हजार ७६५ जनालाई कारवाही भएको बताइएको छ । विभागले बन्दाबन्दीको अवधिमा एक करोड ५० लाख जरिवाना गराएको छ । चालू आवमा जरिवानावापत तीन करोड दुई लाख तिराइएको विभागले जनाएको छ ।

बन्दाबन्दीको समयमा खाद्यान्न, मास्क, ग्यासको अभाव र मूल्य वृद्धिका गुनासो बढी आएका छन् । बन्दाबन्दीको शुरुका सातामा ग्यास र मास्ककोे अभावको गुनासो बढी आए पनि अहिले यस्ता गुनासा कम आइरहेका छन् ।