राजनीति

सम्पुर्ण बजार ठप्प भएको बेला कर उठाउनु गैरजिम्मेवारीः कांग्रेस

२१ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्पुर्ण बजार ठप्प भएको बेला कर उठाउनु सरकारको गैरजिम्मेवारी पन भएको बताएको छ । नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक वालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै विषम र असहज परिस्थिति लकडाउनको सयममा तत्काल कर बुझाउने सूचना जारी गर्नु सरकारको अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ भएको ठहर गरेका छन् ।

लकडाउनले देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प रहेको, अन्य व्यवसाय, बैंक, वित्तिय तथा सहकारी संस्था तथा निजी अस्पताल सञ्चालनमा ठूलो कठिनाई भइरहेको र सम्पूर्ण आर्थिक कारोबार बन्द रहेको रहेको बेला सरकारको यस कार्य प्रति  नेता खाँडले भत्सना समेत गरेका छन् । ।

कोरोनाका कारण बन्द भएका साना देखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरुका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसको विपरित करका लागि ताकेता गर्नु भनेको वर्तमान ओली सरकार आम नेपाली नागरिकप्रति उदासीन रहेको प्रष्ट भएको विज्ञप्तिामा उल्लेख छ ।

विगत ७० दिन भन्दा बढी समयदेखि कोरोनाको कारण सरकारले मुलुकभर बन्दाबन्दी (लकडाउन) गरिरहेको अवस्था रहेको यस अवधिमा सरकार जति गम्भीर एवं जिम्मेवारीपूर्वक ढंगबाट कोरोना रोगको रोकथाम, न्यूनिकरण तथा उपचारका लागि तत्पर हुनुपर्ने हो तर त्यसो नभई दिनानुदिन एक पछि अर्को जनतालाई आतङ्कित गर्ने कार्य गर्दै आइरहेको प्रति आक्रोस व्यक्त गरेका छन् ।

साथै उनले विज्ञप्ति मार्फत सरकार जनताप्रति अनुत्तरदायी भएको कारण सरकारको कार्य क्षमतामा प्रश्न चिन्ह खडा भएको भन्दै ओली सरकार दिनप्रति दिन असफल हुँदै गइरहेको बताएका छन् । आमनागरिकलाई पिडा माथि पिडा थप्ने कार्य अत्यन्त निन्दनीय भएको भन्दै उनले सरकारको यस गतल कदमलाई तत्काल सच्चाउनका लागि कांग्रेस संसदीय दलले माग गरेको छ ।