सुदूरपश्चिम

ढुङ्गागिट्टी उत्खननमा रोक

भजनी, २१ जेठ । कैलालीको टीकापुर नगरपालिका वडा नंं ८ वनगाउँस्थित कर्णाली नदीको पानी डाइभर्सनका नाममा भइरहेको ढुङ्गाबालुवा चोरी निकासी स्थानीय युवाको तीब्र विरोधपछि रोकिएको छ । कर्णालीको कटानबाट उच्च जोखिममा रहँदै आएको सो क्षेत्रमा तीव्र कटान भएपछि स्थानीयवासीले अस्थायी तटबन्ध गरेका थिए ।

टीकापुर– ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले नदीजन्य पदार्थको उत्खननले वर्षायाममा त्यसक्षेत्रमा जोखिम बढ्ने हुँदा ढुङ्गाबालुवा निकाल्ने कार्य बन्द गरिएको बताए । रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नदी तटबन्धका लागि २०७२ सालमा सिद्धि शाही कन्स्ट्रक्शनसंँग ठेक्का सम्झौता गरेको थियो ।

एक हजार दुई सय मिटर लम्बाइमा कन्स्ट्रक्सनले तटबन्ध गर्नुपर्ने भए पनि हालसम्म आठ सय मिटर मात्र काम भएको छ । पटक पटक आयोजना, स्थानीय पालिका र संघीय सरकारलाई त्यसबारे जानकारी गराइँदै आए पनि हालसम्म कतैबाट सुनुवाइ नभएको स्थानीयवासी अगुवा धनसिंह साउदले बताए ।

उनका अनुसार वर्षायाम शुरु भएसंँगै नगरपालिकाका वडा नं ७,८ र ९ का बासिन्दाले त्रासमा जीवन जिउनुपर्ने बाध्यता रहँदै आएको छ ।