अन्तर्राष्ट्रिय

भारतको आसाम राज्यमा पहिरोमा परी २० व्यक्तिको मृत्यु

एजेन्सी । भारतीय उत्तरपूर्वी राज्य आसाम राज्यमा विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको राज्य सरकारका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् । आसामको चचार, हैलाकाँडी, करिमगञ्जलगायतका जिल्लामा पहिरो गएको छ । प्राप्त सूचनाअनुसार चचारमा सात, हैलाकाँडी सात र करिमगञ्जमा छ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एकै परिवारका धेरै सदस्यहरू पनि रहेका बताइएको छ ।

चचारका जिल्ला विपद व्यवस्थापन कार्यालयका आयोजना प्रमुख शमिम लश्करले भने, “चारमा मङ्गलबार पहिरो जाँदा सात व्यक्तिको मृत्यु भएको छ भने केही घाइते भएका छन् । चचारमा मृत्यु भएकामध्ये छ जनाको मृत शरीरलाई पहिरोबाट बाहिर निकालिएको छ भने सातौँ व्यक्तिको खोजी भइरहेको छ ।”

हैलाकाँडीमा पनि पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको र पाँच जना घाइते भएको जिल्लाकाा उच्च अधिकारीले पुष्टि गरेका छन् । भारतीय प्रहरीका अतिरिक्त उप–आयुक्त इएल फाइरहेमले भने, “हैलाकाँडीको अल्गापुर क्षेत्रमा गएको पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

घाइते पाँचै जनालाई स्थानीय अस्पतालमा पुर्याइएकोमा दुई जनालाई सामान्य उपचारपछि घर पठाइएको छ भने तीन जनाको अस्पतालमा भर्ना गरी उपचार सेवा भइरहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार करिमगञ्जमा कम्तीमा छ व्यक्तिको मृत्यु भएको र अन्य १० जना घाइते भएका छन् ।