बाग्मती

स्थानीय तहका क्वारेन्टिन १०० श्ययाको बनाउने तयारी

२० जेठ, काभ्रेपलाञ्चोक । भारतबाट दैनिक १०० को हाराहारीमा काभ्रेपलाञ्चोकका नागरिक फर्कन थालेपछि स्थानीय तहले क्वारेन्टिनमा श्यया सङ्ख्या थप्ने तयारी गरिरहेका छन् । विश्वव्यापीरुपमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि स्थानीय तहले यसअघि निर्माण गरेका क्वारेन्टिन थप व्यवस्थित गर्दै श्यया सङ्ख्या थप्ने तयारी गरेका हुन् ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहका क्वारेन्टिनमा १०० सङ्ख्यामा श्यया व्यवस्थित गर्न गतसाता आग्रह गरेपछि केही स्थानीय तहले श्यया सङ्ख्या थपिरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार एक साताअघिसम्म ३४२ श्यया सङ्ख्या रहेको स्थानीय तहका क्वारेन्टिन हाल ५९१ श्यया पुगेको छ । सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको १३ स्थानीय तहले एक क्वारेन्टिन व्यवस्थित गरेका हुन् ।

पोष्टले पछिल्ला दिनमा दैनिक १०० को हाराहारीमा जिल्ला आउन थालेको जनाएको हो । भारतबाट आउने नागरिकलाई लक्षित गरी स्थानीय तहका क्वारेन्टिन १०० श्ययाको बनाउन आग्रह गरिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “स्थानीय तहका क्वारेन्टिन १०० श्ययाको बनाउन आग्रह गरिएको छ, सोहीअनुसार व्यवस्थापन भइरहेको छ, एक हजार ३०० श्यया बनाउने तयारी भइरहेको हो ।” केन्द्रका अनुसार मजदुरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा बस्दै आएको तथ्याङ्क छ ।

अधिकांश तहले क्वोरन्टिनमा श्यया सङ्ख्या थपिरहेको पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार हाल धुलिखेल नगरपालिकामा ६५, बनेपामा ५०, पनौतीमा ६०, मण्डनदेउपुर नपामा १५, पाँचखालमा ५० तथा रोशी गाउँपालिकामा ४५, महाभारतमा ३५, चौँरीदेउराली गाउँपालिकमा ३०, भुम्लुमा ३०, बेथानचोकमा ३५, तेमालमा १०५ र खानीखोलामा १५ श्यया व्यवस्थित गरिएको छ । साथै, नमोबुद्ध नपाले आज १८ बाट ५६ श्यया तयार गरेको छ । धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनका लागि ५२ श्ययाको क्वारेन्टिन छ भने उक्त अस्पतालमा आठ र बनेपास्थित शिरमेमोरियल अस्पतालमा पाँच श्ययाको आइसोलेशन कक्ष छ ।

नमोबुद्ध नगरप्रमुख टङ्कप्रसाद शर्माले नगरको स्रोत साधनले भ्याएसम्म क्वारेन्टिन थप व्यवस्थित गर्दै श्यया सङ्ख्या थपिएको बताए । “आवश्यकतानुसार क्वारेन्टिन/श्यया थप्नेछौँ”, उनले भने । जिल्लास्थित कमाण्ड पोष्टले क्वारेन्टिनमा आवश्यक जनशक्ति तथा सुरक्षा उपलब्ध गराए क्वारेन्टिन बनाउन कुनै समस्या नहुने उनको तर्क छ । उनले सीमानाकास्थित स्थानीय तहले सिधै समन्वय गरी आएका नगरका नागरिकलाई वडाध्यक्षको जिम्मामा क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको बताए ।

पाँचखाल नगरप्रमुख महेश खरेलले पनि क्वारेन्टिन थप व्यवस्थित गर्दै श्यया सङ्ख्या थप्ने तयारी भइरहेको बताए । उनले भने, “भारतमा बस्दै आएका नगरवासी आउन थालेका छन्, उनीहरुलाई सावधानीपूर्वक क्वारेन्टिनमा राख्न पूर्व तयारी त हुनैपर्‍यो ।”

पोष्टका अनुसार क्वारेन्टिनमा बसाइका बेला तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाको तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई ‘होम क्वारेन्टिन’मा बसाइनेछ । भारतबाहेक अन्य देशबाट जिल्लाका नागरिक आए पूर्व तयारीस्वरुप सदरमुकाम तथा मुख्य शहरमा रहेका होटल तथा अन्य संरचनाको सूची तयार पारिएको प्रजिअ तिमल्सिनाले जानकारी दिए ।