पु.समाचार

जिल्ला प्रशासनको निर्णयः नीलो पास यथावत् (विज्ञप्तीसहित)

२० जेठ, काठमाडौं । बन्दाबन्दी समयमा सवारी साधन सञ्चालनका लागि वितरित नीलो रङको पासलाई यथावत् राखिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही जेठ २ गतेदेखि सात दिनका लागि उपत्यकाभित्रका लागि वितरण गरेको नीलो सवारी साधन पासलाई यथावत् राखिएको जनाएको हो ।

कार्यालयले आज सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर (हाल जेठ ३२गतेसम्म) मान्य हुने जनाएको छ । उक्त सूचनानुसार यसअघि सात दिनका लागि अत्यावश्यक सेवामा खटिनेहरुका लागि जारी गरिएको पासको नवीकरणसमेत कायमै राखिएको छ ।

जिप्रकाबाट पास वितरण गर्दा भीडभाड भई संक्रमणको जोखिम बढेको जनाउँदै बुधबारदेखि पासको निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन आग्रह गरिएको छ ।

उक्त निवेदनानुसार सवारी पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । यसअघि सात दिनको सवारी पासको म्याद सकिएपछि नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।