समाचार

बाँकेमा शुरु भो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम

२० जेठ, राँझा । बाँकेका स्थानीय तहले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम कार्यान्वयन शुरुआत गरेका छन् । कोहलपुर नगरपालिकाले वडा नं १२ सुन्दरबस्तीमा सो कार्यक्रमअन्तर्गतको ६०० मिटर लम्बाइ सडकमा माटो पटान तथा ग्राभेल गर्ने काम शुरु भएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

कोरोना जोखिमका कारण कार्यक्रम कार्यान्वयनमा केही ढिलाइ भएको बताइएको छ । बन्दाबन्दीले अप्ठ्यारोमा परेका विपन्न समुदायमा पर्न गएको दैनिक गुजाराको समस्यालाई हल गर्न कार्यक्रम शुरु गरिएको उनले बताए । नौ लाख ६१ हजारको सो कार्यक्रम उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्न लागिएको कोहलपुर नगरपालिकाका सो कार्यक्रम संयोजक भद्रबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार कार्यक्रम कार्ययोजनाको निर्देशिका अनुसार योजना कार्यान्वयन गर्न थालिएको छ । चालू आर्थिक वर्षमा कार्यक्रमका लागि नगरपालिकाले छनोट गरी पठाएका योजनाका लागि ७५ लाख रकम प्राप्त भएको छ ।

बन्दाबन्दीका कारण ती योजना समयै शुरु हुन नसकेको भए पनि केही योजनाको काम सामाजिक दूरी कायम गरी थोरै जनशक्ति प्रयोग गरी शुरु गरेको उनले जानकारी दिए ।

बाँकेको खजुरा र जानकी गाउँपालिकाले पनि सो कार्यक्रम कार्यान्वयन शुरु गरेका छन् । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले बेरोजगारहरुको सूची सङ्कलन गरेर उनीहरुको क्षमताअनुसारको काम पहिचान गर्ने कार्य भइरहेको जानकारी दिए।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले पहिलो चरणमा बन्दाबन्दीका कारण समस्यामा परेका बेरोजगारलाई सो कार्यक्रमअन्तर्गत रोजगार उपलब्ध गराउने तयारी भएको बताए ।