लुम्बिनी

प्यूठानमा १३ लिफ्ट खानेपानी आयोजना सञ्चालन

२० जेठ, झिमरुक । प्यूठान नगरपालिकाभित्र चालू आर्थिक वर्षमा १३ वटा लिफ्ट खानेपानी आयोजना सञ्चालनमा छन् । उक्त आयोजनाका लागि नगरपालिका, प्रदेश र सङ्घले करिब रु चार करोड ५५ लाख बजेट विनियोजन गरिएको छ । चालू आवमा सम्झौता भएको मरन्ठानाकोट लिफ्ट खानेपानी आयोजना प्रदेश सरकारको समपूरक बजेटका कारण शुरु हुन नसकेको तर सञ्चालनका क्रममा रहेको र बन्दाबन्दीको समयमा पनि अरु आयोजनाको काम भइरहेको नगरपालिकाका योजना अधिकृत चन्द्रबहादुर जिसीले बताए ।

सबै आयोजनाको निर्माण कार्य तीन वर्षमा सक्ने सम्झौता भएको छ । उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको उक्त आयोजनाको निर्माणका लागि आवश्यक पर्ने फिटिङका सामग्री खरिद गर्न नगरपालिकाले टेण्डर आह्वान गरेको छ । तोकिएको समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको योजना प्रमुख जिसीकोे भनाइ छ ।

उनका अनुसार सञ्चालनमा रहेको आयोजनामा बड्डाँडा झिमरुक लिफ्ट खानेपानी आयोजना, सत्तरी पाखाडेरा टाकुरा दमल्दी लिफ्ट खानेपानी आयोजना, मरन्ठानाकोट लिफ्ट खानेपानी आयोजना, बडहरा लिफ्ट खानेपानी आयोजना, इन्द्रेडाँडा लिफ्ट खानेपानी आयोजना, टाकुरा काप्रेचौर लिफ्ट खानेपानी आयोजना रहेका छन् । त्यस्तै डाँडागाउँ लिफ्ट खानेपानी आयोजना, मरन्ठाना लिफ्ट खानेपानी आयोजना प्रदेश समपूरक, सतहमुनि गाँजुरी लिफ्ट खानेपानी आयोजना, धरमपानी लिफ्ट खानेपानी आयोजना, जुम्रीकाँडा ठूलोगाउँ पूर्णागाउँ लिफ्ट आनेपानी आयोजना, दाखाकोट विसमुरे लिफ्ट खानेपानी आयोजना र थापाडाँडा लिफ्ट खानेपानी आयोजना सञ्चलनमा छन् ।