अन्तर्राष्ट्रिय

अमेरिकामा हिंसात्मक प्रदर्शन अन्त्य गर्न सेना र प्रहरी परिचालन गर्ने ट्रम्पको चेतावनी

२० जेठ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने चेतावनी दिएका छन्  । टेलिभिजनमार्फत् सम्बोधन गर्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला उनले यस्तो बताएका हुन् । टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले भने, दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो गर्छु ।

टेलिभिजनमार्फत् सम्बोधन गरेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मीसाथ पैदल गएका थिए । उक्त गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो । ह्वाइट हाउसबाहिर प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको थियो ।

यस्तै ट्रम्पले देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई आह्वान गरेका छन् । ट्रम्पले दशकौंमा भएको एकदमै खराब अशान्त अवस्थाका माझ गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको बताएका हुन् । यसैबीच, न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोमोले हिंसा हुन नदिन भन्दै न्यूयोर्कमा राति ११ बजेबाट कर्फ्यू लाग्ने घोषणा गरेका छन् । फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन् । स्पेनको बार्सिलोनाबाहेक ब्रिटेन र बर्लिनस्थित अमेरिकी दूतावासबाहिर पनि मानिसहरूले प्रहरीको दमनलाई लिएर विरोध प्रदर्शन गरिरहेका छन् ।

यस्तै फ्लोइडको हत्या अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ । फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेका कारण भएको बताएका हुन् । उक्त परीक्षणमा देखिएको कुरा प्रारम्भिक रुपमा देशका स्वास्थ्य परीक्षकले पत्ता लगाएका कारणभन्दा फरक देखिएको छ ।

पहिला गरिएको परीक्षणमा अक्सिजनको कमी वा घाँटी दबाएका कारण भन्ने प्रमाण पत्ता नलागेको बताइएको थियो । सरकारी ती अधिकारीले फ्लोइडको हत्या हुनमा उनको पहिल्यैदेखिको स्वास्थ्य अवस्था कारण रहेको पनि बताएका थिए । तर फ्लोइडको परिवारले राखेका दुई चिकित्सकले भने मृत्यु नभइ हत्या भएको पत्ता लागेको कानुनी टोलीले विज्ञप्तिमा जनाएको छ । अमेरिकाका विभिन्न सहरमा छैठौँ दिन पनि प्रदर्शनहरू भइरहेका छन् र दशकौँमा यो स्तरमा अशान्ति नदेखिएको बताइएको छ।

चिकित्सक बाडेनले फ्लोइडको मृत्यु हुनेगरी अन्य कुनै खालको स्वास्थ्य समस्या नरहेको पनि बताए । फ्लोइडको परिवारका वकिलले मानिसलाई नियन्त्रणमा लिने तरिकामा सुधार गरेको भए फ्लोइडको जीवन बचाउन सकिने भन्दै त्यसका लागि मिनियापलिसको प्रहरी कार्यालयलाई आरोप लगाएका छन् ।