राजनीति

राजपा र समाजवादीले संविधान संशोधन विधेयक गराए दर्ता 

१९ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपाल र समाजवादी पार्टीले नेपालको संविधान दोस्रो संशोधन विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गराएका छन् । राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले संयुक्त रुपमा उक्त संशोधन प्रस्ताव विधेयकको रुपमा दर्ता गराउनुभएको राजपाका महासचिव केशव झाले जानकारी दिए। मधेश केन्द्रित दुवै पार्टीले गैरसरकारी विधेयकको रुपमा संविधान संशोधन विधेयक दर्ता गराएका हुन् । 

विधेयकमा यसअघि संविधान निर्माणका बखतदेखि नै मधेश केन्द्रित दलहरुले उठाउँदै आएका विषय समेटिएका छन् । नागरिकता, भाषा, प्रदेशको सिमाङ्कन हेरफेरका लागि आयोग गठन, राष्ट्रियसभाका लागि निर्वाचन प्रणालीमा संशोधनको प्रस्ताव छ । कतिपय संविधान निर्माणका क्रममा अस्वीकृत भएका मागहरुलाई समेत संशोधनमा समेटिएको छ ।

त्यस्तै सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रभावकारी काम नगरेको भन्दै संविधान संशोधन गरेर संवैधानिक अदालत गठन गर्न माग गरिएको छ । राजदूतलगायत संवैधानिक नियुक्ति समावेशी र समानुपातिक हुनुपर्ने माग पनि थपिएको छ ।

संसद्मा रहेका यी दुवै पार्टीले एक महिनाअघि दुई पार्टी एकताको घोषणा गरेका थिए । कानूनी रुपमा दलको मान्यता पाई नसकेकाले दुई दलका रुपमा विधेयक दर्ता गराएका छन् । यसअघि शुक्रबार राजपाले एकल रुपमा संविधान संशोधनको विधेयक संसद्मा दर्ता गराउन खोजेको थियो । सो विधेयक संसद् सचिवालयले अध्ययन गर्ने भनेपछि दर्ता भएको थिएन ।