अन्तर्राष्ट्रिय

कोरोना नियन्त्रणका लागि सङ्कटकाल लम्याउन संसद्मा प्रस्ताव

१९ जेठ, मड्रिड। देशमा लागू भइरहेको सङ्कटकालको म्याद थप्नका लागि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संसदमा प्रस्ताव लैजाने भएका छन् ।

अन्तिम दुई हप्ताका लागि उहाँले सङ्कटकालको म्याद थप्न संसद्सँग अनुमति माग्नु हुने भएको हो ।

कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि देशमा लकडाउन लागू गर्नुपर्ने भएकाले उनले सङ्कटकालका लागि अनुमति माग्न लाने भएको जनाइएको छ ।

स्पेनमा यसअघि घोषणा गरेर अहिले लागू भइरहेको सङ्कटकालको म्याद यही जुन ७ मा सकिनेछ ।

प्रधानमन्त्रीको प्रस्तावमाथि बुधबार संसद्ले निर्णय दिने अपेक्षा गरिएको छ । संसद्मा प्रधानमन्त्रीको गठबन्धन अल्पमतमा रहेकोले अन्य दलबाट समर्थन नभएमा प्रस्ताव पास हुन सक्दैन ।

कोरोनाभाइरस नियन्त्रणका लागि स्पेनमा लकडाउनको आवश्यकता अझै पनि रहेको विज्ञ तथा सरोकारवालाहरूले बताएका छन् ।

विश्वभरी कोरोना फैलिन शुरु गर्दा प्रारम्भिक चरणमै स्पेनमा धेरै फैलिएको थियो । कोरोनाभाइरसका कारण स्पेनमा अहिलेसम्म २७ हजार १२७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्याको हिसाबले स्पेन अहिलेसम्म धेरै सङ्क्रमित भएका मध्ये चौथो अग्रस्थानमा रहेको छ ।

स्पेनमा कोरोनाभाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा अहिले कम भएको भए पनि अझै पूर्ण नियन्त्रणमा भने आइसकेको छैन ।