साहित्य

निर्दयी समय

                                     -डा प्रदिप ढकाल                                                 -कविता

ए समय,
तिमी नै त हौ – जीवनको अर्थ जताइदिने
जीवन जिउनुको निरर्थकता पनि बताइदिने ….

ए कठिन समय,
रमाउन मात्र के थालेको थिएँ –
तिमी परिवर्तन हुने ऋतु बनिदियौ ……
अनि अर्कोतर्फ गयौ –
जीवन–जंगलबीचको घना अन्धकारमा
बर्षादका बीचमा छाडेर ….

ए निर्दयी समय,
न त भक्कानिन सक्ने
न त कहराउन सक्ने
न त मन बहलाउन सक्ने
कहरावटसँगै आँशु बगिरह्यो …..
हृदयका असीम वेदनाहरु
आँशु बनेर झरिरह्यो
आँखाबाट झरी बर्सिरह्यो
त्यही झरीले वेदना बोकिरहेछ …

ए क्रुर समय,
म आफैलाई सृष्टि गरेर धर्तीमा ल्याएका –
जस्ले मेरो शरीर बनाएका थिए
जस्ले मलाई अस्तित्वमा ल्याएका थिए
तिनै जन्मदातालाई चितासैयामा राखेर
मेरै हातबाट अग्नि झोस्न सक्ने गरी
मलाई निर्दयी र निष्ठूर बनाइदियौ ….

ए टुटेको समय,
बाँच्ने आधारहरु त निकै कम रैछन्
जीवनयात्राका बहाना पनि झूठा रैछन्
जसका लागि जिउने सोचेको
उसैको अस्तित्व नभएपछि
निरर्थक यात्रामा जीवन डोर्याउनुभन्दा
नदी, जंगल, गुफा र कन्दरामा नै
जीवन खोतल्न धकेलि रहेछौ ….