समाचार

पत्रकार शर्माको स्मृतिमा पुरस्कार घोषणा

१९ जेठ, काठमाडौँ प्रेस सङ्गठन नेपाल, काठमाडौँ शाखाले एक वर्षअघि सवारी दुर्घटनामा ज्यान गुमाएका पत्रकार गोविन्द शर्मा घिमिरेको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको छ । गत २०७६ जेठ १९ गते ललितपुरको धोवीघाटमा स्कार्पियो गाडीले उनकाे सवार मोटरसाइकललाई ठक्कर दिँदा शर्मा र मोटरसाइकल चालक नुवाकोटका कलाकार चन्द्रमणि मुडभरीको मृत्यु भएको थियो ।

शाखाले आज शर्माको स्मृतिमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सङ्गठनका काठमाडौँ जिल्ला अध्यक्ष सागर पन्तले शर्माको स्मृतिमा एक अक्षय कोष खडा गरी युवा र क्रियाशील पत्रकारलाई वार्षिक रुपमा रु १० हजार राशीको पत्रकारिता पुरस्कार सञ्चालन गर्ने घोषणा गरे । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाका अध्यक्ष शन्तराम विडारीले पनि शर्माको स्मृतिमा पुरस्कार स्थापना गर्ने बताए ।

प्रेस सङ्गठनका केन्द्रीय संयोजक महेश्वर दाहालले शर्मा एक व्यावसायिक पत्रकार र युवा सङ्गठकसमेत रहेको बताए। सङ्गठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतले विधागत पत्रकारिता क्षेत्रमा शर्माले देखाएको सक्रियतालाई स्मरण गरी आफूलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए सङ्गठनका नेता बलराम थापाले शर्मामा नेतृत्व, गतिशीलता र कुशल सञ्चारकर्मीको क्षमता रहेपनि अल्पायूमै जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गरे । सङ्गठनका बागमती प्रदेश इञ्चार्ज विश्वमणि सुवेदी, उपत्यका प्रदेश इञ्चार्ज सुरोजङ्ग पाण्डे, उपत्यका सहसंयोजक प्रकाश सिलवाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, पत्रकार भावना विद्रोहीलगायतले शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गरेको थियो ।

तत्कालीन प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाका अध्यक्ष शर्मा कृषि टेलिभिजनका संस्थापक र नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्षसमेत थिए । २०४१ वैशाख १० गते ललितपुरको गोदावरीमा जन्मनुभएका उहाँ लोकदोहोरी कलाकारसमेत थिए ।