पु.समाचार

साँसदहरुको टिप्पणीः बजेट सुन्दा राम्रो भए पनि भित्रीपक्ष सन्तोषजनक देखिएन

१८ जेठ, काठमाडौँ । सरकारले कोभिड–१९ को महामारीविरुद्ध लड्न स्वास्थ्य तथा आर्थिक पुनरुत्थानलगायत क्षेत्रलाई सम्बोधन हुनेगरी ल्याएको बजेट समय सान्दर्भिक रहेको भन्दै सांसदहरुले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएकाे छ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिँदै उनीहरुले कोभिडपछिको अर्थतन्त्रलाई चलायमान बनाउँदै कृषि, उद्योग, पर्यटनलाई संरक्षण र प्रवद्र्धनका निम्ति बजेटले विशेष सम्बोधन गरेको बताए। सत्तारुढ दलका सांसदले बजेटको प्रशंसा गरिरहँदा प्रतिपक्षी दलका सांसदले भने बजेटले अहिलेको परिस्थितिलाई सम्बोधन गर्न नसकेको टिप्पणी गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद परशुराम मेघी गुरुङले कोभिड–१९ लगायत सङ्क्रमणजन्य भाइरसको सामाना गरेर अघि बढ्नुपर्ने अहिलेको परिस्थितिमा बजेटको कार्यक्रम र प्राथमिकता सोहीअनुरुप आएको उल्लेख गरे । कोभिडको परीक्षण दायरा बढाइ स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्य पूर्वाधार विकासलाई बजेटले प्राथमिकता दिएकामा उनले खुशी व्यक्त गरे ।
सोही पार्टीका रामनारायण बिडारी बजेट अहिलेको आवश्यकता र सान्दर्भिकतालाई सम्बोधन गर्नेगरी आएको हुँदा यसको प्रभावकारी कार्यान्वयनतर्फ सरोकारवाला सक्रियताका साथ लाग्नु जोड दिए । उनले बजेट विगतको भन्दा प्रगतिशील रहे पनि कृषि उत्पादन, रोजगारी सिर्जना, सीमा रक्षाका लागि बजेट अपुग भएको बताए ।

सोही पार्टीका सांसद बेदुराम भुसालले कोरोना प्रभावितलाई राहत दिन बजेटले विशेष ध्यान दिएको, देशभित्रै रोजगारी प्रदान गर्ने, विदेशी श्रमिकलाई श्रम स्वीकृति लिने व्यवस्था, कृषि क्षेत्रमा लगानी वृद्धि गर्नेजस्ता कार्यक्रम बजेटले समेटेको तर्क गर्दै दोषी चश्मा लगाएर नहेर्न प्रतिपक्षी दललाई आग्रह गरे । उनले एमसिसीको विषयमा सदनले अनुमोदन नगरेको सन्दर्भमा सो विषयलाई समेत बजेटमा राखिनु राम्रो नभएको भन्दै त्यसको सुधार जरुरी रहेको बताए ।

सोही पार्टीका सांसद कोमल वलीले कोभिडको महामारी नियन्त्रण, स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारीलगायत विषयलाई सम्बोधन गरेको हुँदा यसको कार्यान्वयन पक्षलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । उनले बजेटमा हवाइ उद्योगमा सहुलियत, पर्यटन व्यवसायीलाई कर छुटजस्ता कार्यक्रम प्रसंशनीय छ भने ।

सोही पार्टीका सांसद राधेश्याम पासवानले बजेटमा कोभिडको महामारीविरुद्ध जुध्न स्वास्थ्य क्षेत्रमा गरिएको व्यवस्था, विपन्न नागरिक तथा बालबालिकालाई स्वास्थ्योपचारका लागि गरिएको व्यवस्था सकारात्मक रहेको बताए । नेकपाकै सांसद मायाप्रसाद शर्माले बजेटले कोभिडको सङ्क्रमणको सामाना गरी अर्थतन्त्रलाई सक्रिय बनाउन कृषि, पर्यटन, उद्योगलगायत विषयलाई सम्बोधन गरेको भन्दै बजेटको समर्थन गरे ।

नेकपाका सांसद भगवती न्यौपानेले बजेट समसमायिक र विशेषगरी स्वास्थ्य क्षेत्रलाई समेटेर आएकाले पूर्णरूपमा समर्थन जनाए। नेकपाकै सांसद बिना पोखरेलले कोभिडको महामारी नियन्त्रण गर्दै स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जनाका विषय समेटिएको बजेट सकारात्मक रहेको बताए।

नेकपाका सांसद तुलसाकुमारी दाहालले कोभिडको महामारी नियन्त्रण तथा अर्थतन्त्रलाई चलायमान बनाउन राहत तथा पुनरुत्थानका कार्यक्रम समेटिएको बजेट प्रभावकारी कार्यान्वयनमा जोड दिए । सोही पार्टीका सांसद डा विमला राई पौडेलले कोभिडको सङ्कट निवारण गर्दै आर्थिक गतिविधिलाई बढाउन बजेट संयमित ढङ्गले आएको बताए ।

नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले बजेट सुन्दा राम्रो भए पनि भित्रीपक्ष सन्तोषजनक नभएको टिप्पणी गरे । प्रचारमुखी ठूला कार्यक्रम बजेटमा समावेश गरिएकाले कार्यान्यवमा समस्या हुने उनको भनाइ छ । नेकाँकै सांसद तारादेवी भट्टले बजेटले केन्द्रिकृत शासन प्रणालीको पक्षपोषण गरेको टिप्पणी गर्दै अहिलेको विषम परिस्थितिबाट देश र समाजालाई मुक्त गर्नेतर्फ पर्याप्त कार्यक्रम नआएको बताए । राष्ट्रियसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।