समाचार

अस्पताललाई १०० श्यया बनाउन माग

१८ जेठ, स्याङ्जा । कोरोना सङ्क्रमण (कोभिड–१९)बाट सङ्क्रमण देखिएका बिरामीलाई आइसोलेशनमा राखेर उपचार गरिरहेको जिल्ला अस्पताल स्याङ्जालाई स्तरोन्नति गर्नुपर्ने माग बढ्दै गएको छ ।

सदरमुकाममा रहेको सो अस्पतालले बालबालिका र प्रसूति सेवाका लागि गण्डकी प्रदेशभित्र पर्ने अन्य जिल्ला अस्पतालले भन्दा राम्रो सेवा दिदै आएको जनाइएको छ । पछिल्लो समयमा अस्पताललाई १०० श्ययाको बनाउनुपर्ने जिल्लावासीको माग रहेको छ ।

पुतलीबजार नगरपालिका–३ का अनन्तकुमार श्रेष्ठले जिल्ला अस्पताल स्याङ्जालाई स्तरोन्नति गरेर कम्तीमा पनि १०० श्ययाको बनाउनुपर्ने बताए । उनले भने, “सरकारले जनताको स्वास्थ्यमा ध्यान दिनुपर्छ, यो सरकारको दायित्व भएकाले स्याङ्जावासीका लागि मात्रै नभएर सिमाना जोडिएका छिमेकी जिल्ला पर्वत र तनहुँका समेत केही स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि सिफारिस गरी पठाउनुपर्ने अवस्थामा यो अस्पताल पायक पर्ने भएकाले स्तरोन्नति अति आवश्यक छ ।”

पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सीमाकुमारी क्षेत्रीले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गरिरहेको प्रदेश र सङ्घीय सरकारसँग जिल्ला अस्पतालको स्तरोन्नतिका लागि माग गरेको बताए । उनले भने, “हामीले स्थानीय तहबाट गर्नुपर्ने जति सहयोग गरेका छौँ, अस्पताललाई थप व्यवस्थित गर्न अब प्रदेश र सङ्घीय सरकारले ढिला गर्नु हुँदैन । यसका लागि सबैको सहयोग र खबरदारी आवश्यक छ ।” वि.सं २०५७ मा स्थापना गरिएको सो जिल्ला अस्पतालमा १५ श्ययाको स्थायी दरबन्दी भए पनि मन्त्रालयको निर्देशनमा १० श्यया थप गरी हाल २५ श्ययाको रहेको छ ।

अस्पतालकी मेडिकल अधिकृत अञ्जु अर्यालले यही अवस्थामा अस्पतालको संरचनाले धान्न नसक्ने भएकाले स्तरोन्नति गर्नुपर्ने अति आवश्क रहेको बताए । उनले भने, “अहिलेको जटिल अवस्थामा पनि अस्पतालले जिल्ला अस्पतालले दिनुपर्ने सबै सेवा दिइरहेको र चिकित्सकका साथै सबै स्वास्थ्यकर्मी चौबीसै घण्टा काममा खटिएका छौँ, दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्दै जाने अवस्था आएकाले अस्पतालको स्तरोन्नतिका साथै आवश्यक उपकरणको व्यवस्था गर्नुपर्ने देखिन्छ ।” कोरोना विशेष स्रोत व्यक्तिसमेत रहनुभएकी उनले कोरोना सङ्क्रमितका लागि १० श्ययाको आइसोलेशन वार्ड रहेको र त्यसमा अहिले चारजना सङ्क्रमित बिरामीको उपचार भइरहेको र बिरामी सामान्य अवस्थामा रहेको जानकारी दिए ।

अस्पतालमा दुईजना स्थायी चिकित्सक र एकजना कन्सल्टेन्ट, करारका ६ जना चिकित्सकसहित ५६ जना कर्मचारी रहेका छन् ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुर र स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मा बिहीबार जिल्ला अस्पताल पुगेर कोभिड–१९ बाट सङ्क्रमित भई आइसोलेशनमा उपचार गराइरहेका बिरामीको स्वास्थ्य अवस्था बुझ्नु भएको छ ।
हाल २५ श्ययाको मात्रै रहेको जिल्ला अस्पताल स्तरोन्नति भएमा स्याङ्जा जिल्लावासीलाई मात्रै नभएर पर्वत र तनहुँका केही स्थानीयवासीलाई समेत उपचारमा सहज हुने देखिन्छ ।

मौरीका गोलासहितका घार

वालिङ नगरपालिका–१ स्थित त्रियासीमा रहेको रेशम विकास कार्यालयले किसानलाई निःशुल्करुपमा मौरीका घार वितरण गरेको छ ।
किसानलाई मौरीपालन व्यवसाय यसको रेखदेख र व्यवस्थापनका बारेमा जानकारी दिनाका साथै गोलासहितका १६ वटा मौरीका घार वितरण गरिएको रेशम विकास कार्यक्रम कार्यालयका प्रमुख विनोद हमालले जानकारी दिए ।

उनले भने, “मौरीपालनबाट किसानले राम्रो आम्दानी लिन सक्ने भएकाले यसको फाइदा र महत्वका बारेमा धेरैभन्दा धेरै कृषकलाई बुझाउने अभियानमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । यसलाई थप विस्तार गर्ने योजनामा कार्यालय रहेको छ ।”

मौरीपालन, रेशमखेती र च्याउखेती गर्न चाहने कृषकका लागि कार्यालयले सूचना प्रकाशित गरेर सोही सूचनाका आधारमा परेका निवेदन र कृषकको मागअनुसार मौरी र च्याउको बीउ वितरण गर्ने गरेको उहाँले बताए ।

मौरीका लागि वैशाख र चैत महिना उपयुक्त हुने र शेरेना जातको पहाडी मौरीको मह अति राम्रो हुने भएकाले यो जातको मौरीपालन गर्दा कृषकलाई राम्रो हुने बताइएको छ । स्याङ्जा र बागलुङमा उत्पादन भएको शेरेना जातको मौरी गत चैत २ गते पहिलोपटक १३१ किलो मह जापान पठाएको र जापानको प्रयोगशालामा परीक्षण गर्ने क्रममा यहाँबाट पठाएको मह राम्रो गुणस्तरको रहेको प्रमाणित भएपछि अर्कोपटक करिब एक हजार किलोसम्म जापान पठाउने योजनामा रहेको उहाँले बताए। मौरीको व्यापकरुपमा विकास र विस्तारका लागि रानो मौरी उत्पादन र वितरण गर्ने तयारीमा रहेको रेशम विकास कार्यालयले जनाएको छ ।

धानको बीउ वितरण

धानको बीउ राख्ने बेलामा बीउको अभाव भएपछि चिन्तित बनेका आँधीखोला गाउँपालिकाका कृषकले यतिबेला भने राहतको महसुस गरेका छन् ।

बन्दाबन्दीका कारण धानको बीउ अभाव भएपछि गाउँपालिकाले लमजुङबाट राम धान र लोकतन्त्र धानको बीउ ल्याएर ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले धानको बीउ राख्ने बेलामा बीउ नपाएको भन्दै किसानले गाउँपालिकामा गुनासो गरेपछि गाउँपालिकाले बीउको व्यवस्था गरेर अनुदानमा कृषकलाई वितरण गरिएको बताए । उनले भने, “हामी कृषिका माध्यमबाट पालिकालाई आत्मनिर्भर बनाउन चाहन्छौँ त्यसैले विभिन्न प्रकारका बीउबिजनका साथै निःशुल्करुपमा प्राविधिक सहयोगसमेत गर्दै आएका छौँ ।”

किसानलाई कृषि पेशाप्रति थप आकर्षित गर्नका लागि विभिन्न प्रकारका अनुदानका कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।