समाचार

मदनभण्डारी मार्गको २१ किलोमिटर सडक चौडा बनाउने काम सम्पन्न

१७ जेठ, हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो मार्ग मदनभण्डारी मार्गको २१ किलोमिटर भाग फराकिलो बनाउने काम सम्पन्न भएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले उक्त मार्गको भीमफेदीदेखि कुलेखानीसम्मको १५.५ किलोमिटर सडकखण्ड र मकवानपुरको सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीसम्मको छ किलोमिटर सडकखण्ड फराकिलो पार्ने काम सम्पन्न गरेको हो ।

लकडाउनका कारण सडक फराकिलो बनाउने काम अझ सहज भएको र काम छिटोछिटो भएको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए । “लकडाउनको अवधिलाई हामीले भरपुर सदुपयोग गरेका छौँ, यो समयमा हामीले हेटौँडा काठमाडौँको यात्रा अवधिलाई करिब एक घण्टा छोट्याएका छौँ”, मन्त्री फुयाँलले भने । विगतमा औसत चार मिटर चौडा बाटो अहिले सातदेखि १० मिटरसम्म फराकिलो भएको उनले जानकारी दिए ।

मन्त्री फुयाँलले उक्त सडकको थप काम अगाडि बढाउन प्राविधिक टोली तथा निर्माण व्यवसायीसँग छलफल गरिएको बताउँदै आगामी मङ्सिर महिनाभित्र सडक कालोपत्र गर्ने कार्य सम्पन्न गरिने बताए । उनले अब चाँडै नै तारजाली, पर्खाल, सवबेस, नाली र ढलानको काम अगाडि बढाइने जानकारी दिए ।

भीमफेदीदेखि कुलेखानीसम्मको १५.५ किलोमिटर सडक फराकिलो पारी कालोपत्र गर्ने कार्यका लागि प्रदेश सरकारले ३२ करोडमा मोतीदाना कम्पनीलाई ठेक्का दिएको छ । मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानी गरी दुई खण्डमा निर्माण गर्नेगरी बोलपत्र आह्वान गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले चार मिटरको हालको बाटोलाई छदेखि सात मिटरको चौडा बनाएर २०७७ फागुनसम्ममा कालोपत्र तथा ढलसमेतको काम सम्पन्न गरिसक्नुपर्ने हुन्छ । सम्भौतामा फागुन उल्लेख भए पनि सम्झौताअगावै काम सम्पन्न हुने जनाइएको छ । अलग्गै निर्माण कम्पनीले निर्माणको जिम्मेवारी पाएको सिस्नेरी– दक्षिणकाली सडकखण्डको निर्माण गति पनि द्रुत रहेको जनाइएको छ ।