कृषि

धान किसान निराशः बीउ अभाव कायमै

१७ जेठ, तानसेन । पाल्पामा सबैजसो स्थानीय तहले कृषकलाई धानको बीउ वितरण गरेका छन् । स्थानीय तहले मागअनुसारको बीउ वितरण गरेको बताए पनि कृषकले भने अपुग रहेको बताइरहेका छन् ।
रामपुर नगरपालिकामा गत वर्षभन्दा तेब्बर बढी धानको बीउ वितरण गरिए पनि कृषकको मागअनुसार पुर्‍याउन नसकिएको कृषि विकास शाखा रामपुरका प्रमुख रामहरि पाण्डेयले बताए । उनले गत वर्ष जम्मा आठ टन मात्रै वितरण गरिएको नगरपालिका क्षेत्रमा यस वर्ष ३१ टन वितरण गर्दा पनि बीउ पुर्‍याउन नसकिएको स्वीकारे ।
यस वर्ष वडा कार्यालयमार्फत वडागत रुपमा कृषकसँग निवेदन माग गरी वितरण गरिएका कारण कृषकको माग बढी भएको हो । केही धानको बीउ लकडाउनका कारण ल्याउन नसकिएको र कृषकसमक्ष पु¥याउन नसकिएको शाखा प्रमुख पाण्डेयको भनाइ छ । अहिले एउटै वडामा १० टन बीउ माग भएकामा आठ टन वितरण गरिएको उनले सुनाए । नगरपालिका क्षेत्रमा करीब एक हजार आठ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
रोगसँग प्रतिरोधात्मक शक्ति भएको र उत्पादन बढी हुने भएका कारण पनि कृषकको रोजाइअनुसारको सावित्री र रामधान वितरण गरिएको तर रामधान र सावा मनसुली धान माग अनुसार ल्याउन नसकिएको पाण्डेय बताए।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका निम्ति गरिएको बन्दाबन्दीका कारण धान रोपाइँका निम्ति बीउ अभाव देखिएको छ । नयाँ उन्नत जातका धानको बीउ लगाएपछि कीरा कम लाग्ने र उत्पादन बढी हुने भएका कारण कृषकले पहिले पहिले जस्तो घरमै बीउ राख्ने चलन पनि हराउन थालेको छ ।
उत्पादन बढी हुने, नल छोटो हुने र स्याहार्न पनि सजिलो हुने भएपछि कृषक उन्नत धानको बीउतर्फ आकर्षित छन् । सावा मनसुली, शान्ति, जानकी, जिरामसिना, साना मनसुली, युएस, खुमल ४ लगायत धान खरीद गरेर विगतमा बीउ राख्ने कृषक यस वर्ष स्थानीय तहले वितरण गरे पनि पर्याप्त नभएको गुनासो गर्न थालेका छन् ।
रामपुरका कृषक सूर्यप्रसाद रेग्मीले नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरे पनि कृषकले पर्याप्त रुपमा पाउन नसकेको गुनासो गरे । नगरपालिकाले धानको बीउ दिन्छ भनेर ढुक्क भएका कृषक सावा मनसुलीलगायत केही धान नपाउँदा निराश बनेको कृषक रेग्मी बताए ।
रम्भा गाउँपालिकाले अन्य पालिकाभन्दा सहुलियत दिएको गाउँपालिकाले जनाएको छ । पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले ८० प्रतिशत अनुदानमा सावित्री र रामधानको बीउ छ हजार ती सय केजी करीब तीन सय कृषकलाई वितरण गरिएको जानकारी दिए ।
माथागढी गाउँपालिकामा ७५ प्रतिशत अनुदानमा करीब ७५ क्वीन्टल, रैनादेवी छहरा गाउँपालिकामा १५ क्वीन्टल, बगनासकाली गाउँपालिकामा ३२ क्वीन्टल धानको बीउ बाँडिएको छ । तिनाउ गाउँपालिकाले करीब रु पाँच लाखको धानको बीउ वितरण गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती बताए । पाल्पाका तानसेन नगरपालिका तथा निस्दी र पूर्वखोला गाउँपालिकामा पनि धानको बीउ उपलब्ध गराइएको छ । रिब्दीकोट गाउँपालिकाले कार्यालयमा धानको बीउ अभावको गुनासो गर्ने कृषकलाई मात्रै उपलब्ध गराइएको जनाएको छ ।
कृषिज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले सबैजसो स्थानीय तहमा बीउ वितरण भए पनि विगतका जस्तो आवश्यकता भएअनुसार वितरण हुन नसकेको बताए । उनी जिल्लाका केही कृषकले आफँैंले तयार गरेका बीउसमेत राख्ने तयारीमा रहेको बताए ।
जिल्लामा उत्पादन हुने रैथाने जातका धानको बीउ भने पछिल्लो समय हराउँदै गएको छ । पहिले पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमती, झिनुवा, आमझोत्तेलगायत धानको बीउ लोपोन्मुख अवस्थामा रहेको कृषक नै बताउँछन् । जिल्लाको आठ हजार ६२० हेक्टर क्षेत्रफल जमीन धानका लागि उपयुक्त रहेको ज्ञानकेन्द्रले जनाएको छ । पाल्पामा माडीफाँट, अर्गली, हेक्लाङ, हुँगी, रामपुर, दोभानलगायतका फाँट धान उत्पादनका लागि मुख्य क्षेत्र मानिन्छ ।