स्वास्थ्य

रोटरी क्लब पशुपतिले ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

१६ जेठ, काठमाडौँ । कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई रोटरी क्लब पशुपतिले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । रोटरी क्लबका अध्यक्ष हर्क साउदले आज महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

महाशाखा प्रमुख ढकालले कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाइका साथ पालना गराउन अग्रपङ्क्तिमा रही आम नागरिकको सेवा र सुरक्षामा सक्रिय पमा ट्राफिक प्रहरी खटिएको बताए ।

उनले यस विषम परिस्थितिमा ट्राफिक प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमणको जोखिमबाट बच्नका लागि महत्वपूर्ण भूमिका खेल्नुका साथै थप हौसला र उच्च मनोबलसमेत मिल्ने भएकाले रोटरी क्लब, पशुपतिले गरेको सहयोग एवं सदभावप्रति विशेष धन्यवाद दिए ।

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष हर्क साउदले महामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई सङ्क्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल थप उच्च हुने विश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको बताए । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार उक्त रोटरी क्लबबाट प्राप्त एन–९५ मास्क एक हजार ५०० थान र २७ लिटर स्यानिटाइजर सहयोग गरिएको थियो ।