प्रदेश 2

अस्पतालको श्यया भरियो सङ्क्रमितलाई क्वारेन्टिनमै

१६ जेठ, सप्तरी । सप्तरीमा आइसोलेशन वार्डको अभावमा कोरोना सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ ।

सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि श्ययाको अभावमा सङ्क्रमितलाई क्वारेन्टिनमा राख्नुपरेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासका अनुसार अस्पतालमा रहेका २४ श्यया भरिएको छ । सङ्क्रमितको सङ्ख्या ३३ पुगिसकेकाले अन्य व्यवस्था नहुँदासम्म उनीहरुलाई बसिरहेकै क्वारेन्टिनमा अलग्गै राख्न लगाइएको उनले बताए । क्वारेन्टिनमा राखिएका सङ्क्रमितको अवस्था सामान्य रहेको उनले बताए ।

मन्त्रालयले बिहीबार नयाँ सार्वजनिक गरेको सप्तरीको १४ जनामा बोदे बर्साइनका १२ जना तथा खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका एक/एकजना थिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको परीक्षणअनुसार राजविराज–१० का नयाँ चारजना पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिष्ठानले जानकारी दिएको यहाँका चार, मन्त्रालयले पुष्टि गरेका बोदे बर्साइनका तीन, खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका एक÷एकजनालाई गएराति यहाँस्थित आइसोलेशनमा ल्याइएको छ । यसअघि आइसोलेशनमा डाकनेश्वरीका तीन, बलान बिहुलका तीन, सुरुङ्गाका एक र बोदे बर्साइनका आठ गरी १५ जना रहेका छन् ।

आइसोलेशन वार्डका २४ श्यया नै भरिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार कोरोना सङ्क्रमण पुष्टि गरेका १४ जनामध्ये बोदे बर्साइनका नौजना क्वारेन्टिनमै रहेका छन् । आइसोलेनशमा राख्नका लागि अस्पतालमा श्यया खाली नभएका कारण क्वारेन्टिनमै अलग्गै राखिएको मेडिकल सुपरिटेन्डेण्ट डा दासले बताए ।