स्वास्थ्य

मिर्गौलाका बिरामीलाई यातायात खर्च प्रदान

१६ जेठ, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले डायलायसिस गराइरहेका मिर्गौलाका बिरामीलाई यातायात खर्च प्रदान गरेको छ ।

बन्दाबन्दी अवधिभर डायलायसिस गराउन अस्पताल आउजाउ गर्ने मिर्गौलाका बिरामीलाई नगरपालिकाले यातायात खर्च उपलब्ध गराउने निर्णयबमोजिम बिहीबार तीनजनालाई रकम प्रदान गरिएको छ ।

एकजनालाई प्रतिदिन रु एक हजारका दरले ६ हजार र दुईजनालाई रु सात/सात हजार गरी कूल २० हजार यातायात खर्चवापत वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । शुक्लागण्डकी नगरपालिकाका नौजनाले दमौलीस्थित डायलायसिस केन्द्रमा नियमित डायलायसिस गराउने गरेका छन् । बाँकी सबैलाई छिट्टै नै यातायात खर्च उपलब्ध गराइनेछ ।

बन्दाबन्दीका क्रममा सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा मिर्गौलाका बिरामीलाई अस्पताल आउजाउमा समस्या हँदै आएको छ । “मिर्गौलाका बिरामीले एक हप्तामा दुईपटक डायलायसिस गराउनुपर्छ, प्रत्येक पटक डायलायसिस गराउन जाँदा नगरपालिकाले एक हजार उपलब्ध गराउँछ”, उनले भने, “यसले मिर्गौलाका बिरामीलाई केही राहत हुने विश्वास लिइएको छ ।”

बन्दाबन्दीमा सवारी साधन सञ्चालन नहुँदा मिर्गौलाका बिरामीले एम्बुलेन्स भाडामा लिएर वा अत्यावश्यक वस्तु लिएर आएको सवारी साधन चढेर अस्पतालसम्म पुग्नुपर्ने बाध्यता छ । बन्दाबन्दीमा सवारी साधन नचलेपछि मालवाहक ट्रक चढेर डायलायसिस गराउन आउने गरेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका अनिशा सुवेदीले बताए ।

वि.सं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलायसिस केन्द्र स्थापना भएको थियो । केन्द्रले चार वर्षको अवधिमा २४ हजार ९८६ पटक डायलायसिस सेवा प्रदान गरेको छ । केन्द्रबाट हालसम्म २१० जना मिर्गौलापीडितले डायलायसिस सेवा लिएका छन् भने नियमित डायलायसिस गराउने मिर्गौलापीडितको सङ्ख्या ७२ जना रहेको केन्द्रले जनाएको छ ।

खोप कार्यक्रम शुरु

शुक्लागण्डकी नगरपालिकाले बन्दाबन्दीकै बीचमा पनि खोप कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले बिहीबारदेखि वडा वडामा खोप कार्यक्रम शुरुवात गरेको हो । जसअनुसार बिहीबार शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित शेराबेँसीमा खोप कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका १२ वटै वडामा जेठ १९ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिनेछ । उनले भने, “कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी जारी रहे पनि सरकारले सतर्कता अपनाएर खोप कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएपछि खोप कार्यक्रम सञ्चालन गरेका छौँ ।”

गत चैत १० गतेसम्म खोप कार्यक्रम नियमित भएकामा बन्दाबन्दी शुरु भएपछि स्थगित गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारीको समयमा नियमित खोप कार्यक्रम सञ्चालन गर्नका लागि मार्गदर्शन जारी गरेको थियो । बालबालिकालाई जन्मदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ वटा रोगविरुद्ध खोप दिने गरिएको छ । खोप दिँदा भौतिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा अवलम्बन गर्ने तथा लक्षित सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने गरी मार्गदर्शन जारी भएको छ ।

बालबालिका जन्मनेबित्तिकै बिसिजी, ६ हप्तामा पोलियो, एफआइपिभी, पिसिभी, डिपिटी, हेप बी हिब, रोटा, १० हप्तामा पोलियो, पिसिभी, डिपिटी, हेपबीहिब, रोटा, १४ हप्तामा पोलियो, एफआइपिभी, डिपिटी, हेपबीहिब, नौ महिनामा पिसिभी, दादुरा–रुबेला, १२ महिनामा जापानिज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा–रुबेलाविरुद्धको खोप नियमितरुपमा लगाउनुपर्छ ।

प्रहरी र पत्रकारको कोरोना बीमा

इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँका प्रहरीको कोरोना बीमा गरिएको छ । कोरोना सङ्कटका बेला अग्रभागमा खटिएर जिम्मेवारी निर्वाह गरिरहेका प्रहरीको कोरोना बीमा गरिएको हो ।

इलाका प्रहरी कार्यालय मातहत रहेका १९ जना प्रहरी जवानको कोरोना बीमा गरिएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक जीतेन्द्र श्रेष्ठले जानकारी दिए । डुम्रेस्थित शिखर इन्स्योरेन्स कम्पनी प्रालिबाट प्रहरीको रु एक लाखबराबरको कोरोना बीमा गरिएको हो । कम्पनीका प्रबन्धक नारायण ढकालले उक्त बीमा पोलिसी प्रहरी निरीक्षक श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

कोरोना नियन्त्रण गर्ने अभियानमा खटिँदा प्रहरी बढी जोखिममा रहने भएकाले कोरोना बीमा गरिएको श्रेष्ठले बताए । पिसिआर परीक्षणमा कोरोना पुष्टि भएमा तत्कालै रु एक लाख प्राप्त गर्ने बीमा कम्पनीले जनाएको छ । सम्झौता भएको १५ दिनपछि बीमा लागू हुने कम्पनीले जनाएको छ ।

यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित शुक्लागण्डकी एफएममा कार्यरत पत्रकारको पनि कोरोना बीमा गरिएको छ । कोरोना महामारीको जोखिम मोलेर काम गरिरहेका आठजनाको नेको इन्स्योरेन्स दुलेगौँडा कार्यालयमार्फत बीमा गरिएको रेडियोका स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिए । बीमा लेखबाट रेडियोमा कार्यरत सञ्चारकर्मीलाई सम्भावित आर्थिक जोखिम बहन गर्न सहयोग पुग्ने विश्वास गरिएको उनले बताए ।

अग्रपङ्क्तिमा रहेर जोखिमपूर्ण तरिकाले समाचार सङ्कलन गरिरहेका पत्रकार र रेडियोमा कार्यक्रम सञ्चालन गर्ने सञ्चारकर्मीको व्यक्तिगत सुरक्षाका लागि बीमाको व्यवस्था गरिएको रेडियोका अध्यक्ष नारायण श्रेष्ठले बताए ।