कृषि

आधुनिक कृषि प्रविधितर्फ आकर्षित हुँदै कृषक

१६ जेठ, गलेश्वर बन्दाबन्दी’का कारण कृषि कामका लागि कामदार पाउन छाडेपछि म्याग्दीका कृषक आधुनिक कृषि प्रविधितर्फ आकर्षित हुन थालेका छन् ।

कोरोना भाइरसको प्रकोप र लकडाउनका कारण दैनिक ज्यालादारी काम गर्ने मान्छेको कमी भएपछि कृषकले आधुनिक कृषि प्रविधि प्रयोग गर्न थालेका हुन् । खेतबारी जोत्न गोरु पाउन तथा दैनिक काम गर्ने मान्छे नपाउँदा आधुनिक प्रविधि रोजेको बेनी नगरपालिका–२ बगरफाँटका किसान सागर खत्रीले बताए । “अहिले खेतबारी जोत्न कामदार नै छैनन्, लकडाउनका कारण भएका कामदार पनि आउँदैनन्”, उनले भने, “कामदार र गोरु पाउन नसकेपछि आधुनिक औजारतर्फ आकर्षित भएको हुँ ।”

पछिल्लो समय जिल्लाका शहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म खेतबारी जोत्न गोरुको सट्टा आधुनिक औजार (हाते ट्र्याक्टर, ट्र्याक्टर) प्रयोग हुन थालेको छ । गोरुले जोत्दाभन्दा आधुनिक औजार प्रयोग गर्दा सजिलो र काम छिटो हुने भएकाले धान रोप्ने, गहुँ काट्ने, गहुँ झाँट्नेलगायत मेसिनको प्रयोग हुन थालेको मल्लरानी मङ्गला गाउँपालिका–१ का तुलाराम सापकोटाले बताए । खेतबारी जोत्न आधुनिक प्रविधि आएपछि काममा सहज भएको र श्रम तथा लागत घटेको उनले बताए । पछिल्लो समय गाउँका युवा विदेशिँदा काम गर्ने मानिसको अभाव भएको र यसले हाते ट्र्याक्टरको प्रयोग बढेको उनको भनाइ छ ।

केही समययता केन्द्र, प्रदेश सरकार र स्थानीय तहले आधुनिक औजारको प्रयोगमा प्रोत्साहन तथा अनुदानमा औजार दिन थालेपछि यसको प्रयोग बढ्दै गएको हो । म्याग्दीका स्थानीय तह, विभिन्न सङ्घसंस्था र प्रदेश सरकारको ५० र ७५ प्रतिशत अनुदानमा मिनी टिलर, गहुँ, धान थ्रेसर, चापकटरलगायत कृषि औजार वितरण गरेका छन् । सरकारले कृषि क्षेत्रमा लगानी गरेर व्यावसायिकीकरण गर्न थालेपछि परम्परागत खेती प्रणालीलाई त्यागेर आधुनिक कृषि प्रणालीतर्फ किसान अग्रसर हुन थालेका छन् ।

गतवर्ष जिल्लाका स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा प्रदेश सरकारले ५० र ७५ प्रतिशत अनुदानमा म्याग्दीका १२७ कृषि समूहलाई कृषि औजार वितरण गरेका थिए । यस वर्ष पनि केही वितरण गरेको र बाँकीलाई वितरण गर्ने तयारी भइरहेको स्थानीय तहले जानकारी दिएका छन् । उत्पादन बढाउन तथा कृषिलाई व्यावसायिकीकरण गर्न परम्परागत तरिकाले खेतीपाती गरेर नहुने म्याग्दीका स्थानीय तहले बताएका छन् । कृषिमा आधुनिक औजारको प्रयोगले उत्पादनमा वृद्धि हुने तथा उत्पादन लागतमा कमी आउने मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

“आधुनिकीकरणका लागि आधुनिक उपकरण आवश्यक पर्छ”, उनले भने, “यस्ता सामग्रीको प्रयोगले श्रम र लागत दुबै घटाउँछ भने उत्पादन बढाउन सघाउ पुग्छ ।” कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै जान थालेपछि कृषि उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

बन्दाबन्दीकै बीच बस्ती संरक्षणको काम
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका बीच बस्ती संरक्षणको काम धमाधम भइरहेको छ ।

म्याग्दी नदीको कटानबाट उच्च जोखिममा परेको बेनी नगरपालिका—२ बगरफाँटलाई जोगाउनका लागि बन्दाबन्दीको बीचमा पनि बस्ती संरक्षण आयोजनाको काम धमाधम भइरहेको हो । गण्डकी प्रदेश सरकारको रु ५० लाखको लागतमा बगरफाँटको दूधेखोलादेखि बाङ्गेघरासम्म करिब दुई किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटबन्ध गर्न लागिएको छ ।

सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाको पहलमा बस्ती संरक्षण आयोजनाले बगरफाँटको बस्ती संरक्षणका लागि डिपिआर तयार गरी एक वर्षभित्रमा काम सम्पन्न गर्ने गरी संरक्षण आयोजनाको काम शुरु भएको बगरफाँट, म्याग्दीखोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताए । उनका अनुसार नदी कटानबाट अतिप्रभावित क्षेत्र जरुवादेखि डम्मराको पुलसम्म ४०० थान जाली भरिएको छ । विगत नौ दिनदेखि दैनिक २० जना मजदुरले ग्याविन लगाउने काम गरिरहेका छन् ।

यस वर्ष जरुवादेखि पलाँसेसम्मको तटबन्ध गर्ने काम सम्पन्न गर्ने योजना रहेकामा बन्दाबन्दीका कारण मजदुर र निर्माण सामग्रीको अभावका कारण लक्ष्य पूरा हुन नसकेको अध्यक्ष कार्कीले बताए । वि.सं २०५७ मा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तररुपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षहरुमा सामान्य ग्याविन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी भएको थिएन ।

करिब २०० घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहे पनि बर्खामा भने नदी कटानका कारण सधैँ जोखिममा रहने गरेको स्थानीयवासीले बताएका छन् । गत वर्ष स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त रु १० लाखबाट नदीजन्य वस्तुको स्थानान्तरण गराई उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

उनका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका वडा नं ६ डम्मराका बासिन्दाको आपसी सहमतिमा म्याग्दी नदीको करिब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्यवस्तु (ढुङ्गा, गेगर, बालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको थियो ।

नदीले बगरफाँटको करिब १५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र, पलासे र जरुवा उच्च जोखिममा परेका छन् । बगरफाँट सदरमुकाम बेनीबजारसँगै जोडिएको कृषिका लागि उर्वर फाँट भएको गाउँ हो ।