बाग्मती

क्वारेन्टिनमा बस्नेलाई गाउँपालिकाद्वारा खानाको व्यवस्था

१६ जेठ, मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले क्वारेन्टिनमा बसेकाका लागि खानाको व्यवस्था गरिदिएका छन् । गाउँपालिकाका विभिन्न वडाको क्वारेन्टिनमा रहेका २६ जनालाई खानाको व्यवस्था गरिएको हो ।

खानाका लागि चामल, नुन, तेल तरकारी उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताए । उनीहरुलाई आफ्नो घर पायक पर्ने गरी क्वारेन्टिनमा राखिएकाले परिवारले नै खाना पु¥याउने गरेको अध्यक्ष गुरुङले बताए । उनले भने, “हामीले उनीहरुलाई घर पायक पर्ने क्वारेन्टिनमा राखेका छौँ । होटलबाट खाना लैजाने व्यवस्था नभएपछि आवश्यक पर्ने चामल नुन तेल लगायतका खाद्यान्न सामग्री व्यवस्था गरिएको छ, आवश्यक सुरक्षा सतर्कताका साथ परिवारका सदस्यले खाना पु¥याउने गरेका छन् ।”

अध्यक्ष गुरुङका अनुसार क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत नियमित खटाएका छन् । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमार्फत नै परिवारले खाना पु¥याउने गरेका छन् । क्वारेन्टिनमा रहेका र उनीहरुका घरपरिवारलाई कोरोनासम्बन्धी आवश्यक परामर्शसमेत दिइएको उनले बताए ।

हाल भारतबाट आएका २४ जना र नेपालका अन्य जिल्लाबाट आएका दुई गरी २६ जना गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा राखिएको छ । राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङको क्वारेन्टाइनमा पाँच, सर्वशान्ति मावि कुरिन्टारको क्वारेन्टाइनमा १९ र वडा नं ७ स्थित रानीखोला आधारभूत विद्यालयको क्वारेन्टाइनमा दुईजनालाई राखिएको छ । यसअघि आठजना क्वारेन्टिनमा बसेर स्वास्थ्य जाँच गराई घर फर्किसकेको अध्यक्ष गुरुङले बताए ।