स्वास्थ्य

परिवार नियोजन संघद्वारा १५ हजारलाई सेवा

१६ जेठ, नारायणपुर । बन्दाबन्दी अवधिमा नेपाल परिवार नियोजन संघ दाङले १५ हजारभन्दा बढीलाई सेवा दिएको छ । सन् २०२० अप्रिल १ देखि मे २० तारिखसम्म १५ हजार ३९४ जनाले परामर्श तथा अन्य सेवा लिएको नेपाल परिवार नियोजन शाखाका प्रबन्धक वसन्त खनालले जानकारी दिए ।
उनका अनुसार सो अवधिमा परिवार नियोजन सेवा तथा परामर्श दुई हजार ६०३ जनाले लिएका छन् । पिल्स एक हजार २४७, कण्डम ६८३, डिपो प्रोभेरा ४०७ र गर्भपतन सेवा ५१ जनाले लिएका छन् । त्यसैगरी खोप सेवा ८७ , गर्भवती सेवा तथा परामर्श ६५४ , स्त्री रोगसम्बन्धी सेवा तथा परामर्श १३६ र पिसाब जाँचसम्बन्धी सेवा १२१ जनाले लिएको शाखा प्रबन्धक खनालले जानकारी दिए।
संघले कोरोना संक्रमण हुन नदिनका लागि स्वास्थ्य सतर्कता अपनाएर सेवा तथा परामर्श प्रदान गर्दै आइएको जनाएको छ । स्वास्थ्यकर्मीलाई पिपिइ तथा सेवा लिन आउनेलाई साबुनपानीले हात धोएर मात्र प्रवेशको व्यवस्था गरिएको छ । अनिवार्य मास्कको प्रयोग, भित्र प्रवेश गर्दा तापक्रम जाँच, भौतिक दूरी कायम राख्ने व्यवस्था गरी सेवा प्रदान गरिएको परिवार नियोजन शाखाले जनाएको छ । महामारी अवस्थामा सेवा दिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको कोरोना बीमा गरिएकोे छ । सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको जोखिम हुने भएकाले स्वाब परीक्षण आवश्यक रहेको प्रबन्धक खनालको भनाइ छ । संघले स्वास्थ्यकर्मीलाई आलोपालोको व्यवस्था मिलाएको छ । चौध दिनसम्म कार्यालयमा काम गर्ने र १४ दिन घरमा बस्ने व्यवस्था गरिएको छ ।