पर्यटन/संस्कृति

मन्त्री भट्टराई भन्छन्ः सगरमाथाको सुन्दरता र सफाइलाई कायम राख्न धेरै नै चुनौतीपूर्ण

१६ जेठ, काठमाडौं । कोरोना भाइरसको जोखिम नहुन्थ्यो त वसन्त ऋतुको यो याममा सगरमाथा आरोहणका खबरले विश्वभर नेपालको शान र पहिचानलाई पुलकित बनाइरहेको हुने थियो । आजको दिन मात्रै यतिका सङ्ख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरे भन्ने समाचार देश तथा विदेशमा फैलिन्थ्यो । सो जोखिमले अर्थतन्त्रलाई असर पारेको छ ।

विशेष गरी पर्यटन क्षेत्र यसको मारमा परेको छ । अन्य क्षेत्रजस्तै सगरमाथासहितका हिमाल आरोहणलाई यो वर्ष विश्राम गराइदियो । हो, आज १३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस अघिल्ला वर्षजस्तो हर्षोल्लासका साथ मनाउन सकिएन । सर्वाधिक आरोहण हुने याममा कोरोनाका कारण आरोहण नै नभएको अवस्थामा सगरमाथा दिवस मनाउन विवस पा¥यो ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकिएको आज ६७ वर्ष पूरा भएको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगेका थिए । सगरमाथामा मानव पाइला परेको पहिलो दिन मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ ।

तेह्रौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज नेपालमा पनि औपचारिक कार्यक्रम गरी मनाइएको छ । सन् २००८ देखि सगरमाथा दिवस मनाउन शुरु गरिएको थियो । यस वर्ष कोभिड–१९ का कारण अघिल्ला वर्षहरु जस्तै भव्य समारोह भने गरिएन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सिंहदरबारमा एक कार्यक्रमबीच सगरमाथा आरोहीको स्मरण गर्दै उनीहरुले नेपालको पहिचानलाई विश्वसामु पु¥याएको योगदानको सम्मान व्यक्त ग¥यो । नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घलगायत ६ भन्दा बढी पर्यटन क्षेत्रका संस्थाले उक्त कार्यक्रमलाई साथ दिए । विश्वचर्चित आरोही तथा सरोकारवाला निकायका प्रतिनिधिको कार्यक्रममा सहभागिता थियो ।

पर्यटन विभागका अनुसार सन् १९५३ देखि सन् २०१९ सम्मको अवधि अर्थात् ६७ वर्षे सगरमाथा आरोहण इतिहासमा ६ हजार ५०१ स्वदेशी तथा विदेशीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । यीमध्ये तीन हजार ४७८ नेपाली आरोही छन् । सन् २०१९ मा मात्रै सगरमाथासहितका हिमालबाट रु ५६ करोड रोयल्टी उठेको छ । सगरमाथाबाट मात्रै रु ४५ करोड रोयल्टी उठेको छ । गत वर्षको वसन्त ऋतुमा ६६० जनाले सगरमाथा आरोहण गरेका थिए ।

सगरमाथासहितका हिमाल आरोहणले आर्थिक आम्दानीमात्र होइन नेपालको पहिचानलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको छ । आरोहण क्षेत्रमा आर्थिक गतिविधि र रोजगारी सिर्जना भएका छन् । सर्वोच्च शिखर सगरमाथाप्रति जति गर्व गर्छौैं त्यति नै चुनौती भपिएको पर्यटनमन्त्री योगेश भट्टराई बताउछन् । उनले भने, “सगरमाथा नेपालमा छ भन्ने कुरा जति हामीलाई गर्व छ, त्यत्तिकै हाम्रा लागि चुनौती पनि छ । सगरमाथाको स्वच्छता, सुन्दरता र सफाइलाई कायम राख्न धेरै नै चुनौतीपूर्ण छ ।”

विगतमा स्वदेशी तथा विदेशी निकायको समेत सहयोगमा अघिल्लो वर्ष सगरमाथा सफाइ अभियान चलाएर हजारौँ टन फोहर काठमाडौँ ल्याउन सफल भएको र यसले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएको थियो । यो वर्ष कोभिडका कारण हुन नसके पनि छिट्टै यो कामलाई निरन्तरता दिइने उनको भनाइ थियो ।

उनले विगतमा गठन आदेशका भरमा हुँदै आएको पर्वतारोहण क्षेत्रलाई व्यवस्थित गर्न कानूनीरुपमा व्यवस्थित गर्ने प्रयास भइरहेको र छिट्टै नै पर्यटन एन ल्याइने बताए ।

“हामीले पर्यटन एनसम्बन्धी मस्यौदा तयार गरी सरोकारवाला तथा अन्तरमन्त्रालय छलफल भइसकेको छ, यो छिट्टै नै सङ्घीय संसद्मा प्रस्तुत गर्दैछौँ यसले आरोहणको क्षेत्रमा देखिएका समस्यालाई नियमन गर्ने, आरोहीको हितलाई सुनिश्चित गर्ने, नेपालको पर्वतारोहणको क्षेत्रबाट अर्थतन्त्रलाई अझ बलियो बनाउने र थप रोजगारी सिर्जना गर्नेलगायत काममा मद्दत पुग्नेछ”, उनले भने ।

उनले अन्तर्राष्ट्रिय सगरमाथा दिवसका आरोहीको योगदानको कदर गर्दै विभिन्न सम्मान, पुरस्कार दिने गरिएको भए पनि यो वर्ष कोभिडका कारण हुन नसकेको भन्दै सामान्य अवस्था भएपछि थाति कार्यक्रमलाई पूर्णता दिइने उल्लेख गरे ।

पर्वतारोहण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी नेपाल र विदेशमा समेत खपत गर्न सकिन्छ भन्ने उद्देश्यले सरकारले बजेटमा पर्यटन विश्वविद्यालयको अवधारणा ल्याएको र यसबारे ऐनको मस्यौदा तयार भई मन्त्रालयमा छलफलका क्रममा रहेको जानकारी दिए ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पर्वतारोहणलगायत पर्यटन क्षेत्रको नीतिगत सुधारका कार्यक्रम र नयाँ कार्यक्रमलाई आगामी आर्थिक वर्षको बजेटमा समेटिएको भन्दै यसको कार्यान्वयनलाई जोड दिइने बताए । उनले आरोहणको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र आरोहीको क्षमता अभिवृद्धिका लागि तालिमलगायतका कार्यक्रम गरिने बताए ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सगरमाथा आरोहणको गौरवलाई कायम राख्दै सगरमाथासहितका हिमालको संरक्षण तथा आरोहीको सुरक्षाका निम्ति सरोकारवाला निकायले ध्यान दिन जरुरी भएको उल्लेख गर्नुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले आरोहीको योगदानलाई कदर गर्दै राज्यले सामाजिक सुरक्षालगायतका कार्यक्रम ल्याउनुपर्ने बताए । उनले सर्वोच्च शिखर सगरमाथासहित नेपालमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल पहिचान भएकाले यसको प्रवद्र्धनका निम्ति सरकारले ध्यान दिन जरुरी भएको बताए । आरोही मिङ्मा डेबिट शेर्पाले आरोहण क्षेत्रमा जीवनको बाजी लगाउने आरोहीको सामाजिक सुरक्षा र आरोहण तालिमलगायतका क्षेत्रमा सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले आरोहणलाई सुरक्षित र व्यवस्थित गर्न स्थायी प्रकृतिको आरोहण उद्धार टोली बनाउन पनि माग गरे ।