कर्णाली प्रदेश

४५ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएपश्चात् घर फिर्ता

खलङ्गा, १६ जेठ । जुम्लाको कर्णाली प्रविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका ४५ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् घर पठाइएको छ । भारतबाट आएका उनीहरु क्वारेन्टिनमा बस्दै आएको जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताएका छन् ।

उनीहरुको मङ्गलबार पिसीआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उनीहरुलाई घर पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । “सोमबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएकामा मङ्गलबार कोरोना नभएको रिपोर्ट आएपछि क्वारेन्टिनबाट बिदाइ गरिएको छ”, उनले भने, “उनीहरुलाई घरमा समेत सावधानी अपनाउन भनिएको छ ।”

जिल्लास्तरीय एकीकृत क्वारेन्टिन निर्माण यहाँका आठवटै स्थानीय तहले गरेको प्राविधिक शिक्षालयमा १०० जनालाई राखिएको प्रशासनले जनाएको छ । पालिकाको एकीकृत क्वारेन्टिनमा शुरुमा निर्माण गरेको ४३६ श्ययाको क्वारेन्टिनलाई थप गरी एक हजार श्ययाको निर्माण गरिने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

यहाँका आठवटै स्थानीय तहले निर्माण गरेको कर्णाली प्रविधिक शिक्षालयमा जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा भारतबाट दैनिक सयौँको सङ्ख्यामा जिल्ला भित्रिनेक्रम बढेकाले क्वारेन्टिन अहिले भरिभराउ छ । प्राविधिक शिक्षालयको क्वारेन्टिनमा १५६ र दुर्गा माध्यामिक विद्यालय लाम्राको क्वारेन्टिनमा २८ बसिरहेका छन् । दैनिकरूपमा जिल्ला भित्रिनेको सङ्ख्या बढिरहेकाले क्वारेन्टिन व्यवस्थापनमा चुनौती थपिएको छ ।

चाँडै स्थानीय तह र सरोकारवाला निकायको सहकार्यमा व्यवस्थापन गर्न आवश्यक देखिएको जिल्ला प्रहरी प्रमुख कार्यालय जुम्लाका प्रमुख लालबहादुर धामीले बताए । अहिले आउनेमा यहाँको क्षेत्र नं ९ख० का नागरिक क्वारेन्टिनमा बढी छन् । अब आउने व्यक्तिका लागि कहाँ राख्ने भन्ने चिन्ता छ । अब सदरमुकाम वा नजिकै चाँडै क्वारेन्टिनको सङ्ख्या व्यवस्थापन गर्नुपर्नेछ । यदि अब बाहिरबाट आउने मानिसको व्यवस्थापन नभइ घर जानुपर्ने बाध्यता भयो भने हालसम्म गरेका सबै उपलब्धि पनि फेरि गुम्ने डर हुनसक्के प्रमुख धामीले बताए । हाल जिल्लाको पाँच स्थानमा एकीकृत क्वारेन्टिन निर्माण गरिएको छ ।

कर्णाली प्राविधिक शिक्षालय, जुम्ला बहुमुखी क्याम्पस, निर्माण व्यवसायीको भवन, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारीमा एकीकृत क्वारेन्टिन निर्माण गरिएको हो । भारतबाट भित्रिनको सङ्ख्या बढिरहेको बेला उच्च सावधानी अपनाउन स्थानीयवासीले सरोकारवाला निकायलाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक हप्ताअघिसम्म आएका सबैको पिसीआर परीक्षण गरिसकिएको छ । सबैको रिर्पोट नेगेटिभ आइसकेको छ । कामका सिलसिलामा भारत गएकाहरु फर्किन थालेपछि जिल्लावासी त्रासित भएका छन् ।

भारतबाट भित्रिनेको सङ्ख्या बढ्दै

भारतबाट जुम्ला भित्रिनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको छ । सोमबार र मङ्गलबार मात्रै १०० जना क्वारेन्टिनमा बसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले भारतबाट नेपाल फर्कन चाहनेलाई ल्याउन थालेपछि यहाँ सङ्ख्या बढेको हो । जिल्लाभरका क्वारेन्टिनमा ६४ जना रहेकामा दुई दिनयता बाहिरबाट आएकाको सङ्ख्या बढेको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले बताए । क्वारेन्टिनमा बसेकामध्ये ९० प्रतिशत मानिस भारतबाट फर्किएका छन् । जिल्लामा ४३६ श्ययाको क्वारेन्टिन रहेकोमा एक हजार शैया पुर्याउने योजनाका साथ अहिले काम भइरहेको जिल्ला समन्वय समतिले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा रोजगारी प्रदान

जुम्लाको हिमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा आर्थिक अवस्था कमजोर भएका १६१ जनालाई कामसहित रोजगारी दिएको छ । गाउँपालिकाभित्रका विभिन्न वडामा आरसिसी, गोरेटो बाटो, सिँचाइ कुलो, ढल निकास, कृषि सडक निर्माणको काम दिएको र गाउँपालिकाले तयार पारेको तथ्याङ्कअनुसार अतिविपन्न र बेरोजगारलाई जारी बन्दाबन्दीको समयमा काम दिएको गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलले बताए ।

लामो समयदेखि लकडाउन हुँदा घर खर्च चलाउन गाह्रो भएका अतिविपन्नलाई गाउँपालिकाले रोजगारीको अवसर प्रदान गरेपछि रोजगार कार्यक्रममा आबद्ध भएका मजदुर खुशी भएको स्थानीयवासी जयबहादुर रोकायाले बताएका छन् । प्रधानमन्त्री रोजगारमार्फत खटिएकालाई दैनिक रु ६६० का दरले पारिश्रमिक प्रदान गरिने गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।

कार्यक्रमका लागि गाउँपालिकाका एक हजार ७८५ रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका छन् । सो कार्यक्रमका लागि सरकारले चालू आर्थिक वर्षमा गाउँपालिकालाई रु ४२ लाख रकम सशर्त अनुदान दिएको छ । सोही कार्यक्रममार्फत गाउँपालिकामा विभिन्न आयोजना सञ्चालन गरिने गाउँपालिको रोजगार शाखाले जनाएको छ ।

जिल्लाको तातोपानी गाउँपालिका, कनकासुन्दरी, पातारासी, चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकाले अतिविपन्न र बेरोजगारको तथ्याङ्क सङ्कलनको काम अन्तिम चरणमा पुगेको छ । लकडाउनको सास्ती खेपिरहेका नागरिकलाई एक हप्ताभित्र कामसहितको रोजगारी दिने तातोपानी गाउँपालिकाका रोजगार संयोजक सरिता शर्माले बताए ।

गत फागुन ८ गते १५ दिने सूचना प्रकाशित गरी रोजगार संयोजकको विज्ञापन गरेको तिला गाउँपालिकाले रोजगार संयोजकको परीक्षा गर्न नसक्दा गाउँपालिकामा रोजगार संयोजक नहुँदा रोजगार कार्यक्रम प्रभावित भएको र कोरोना भाइरस अत्यभएपश्चत रोजगार संयोजकको छनोट प्रक्रिया अघि बढ्ने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जङ्गबहादुर बस्नेतले बताएका छन् ।