समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा रोजगारी प्रदान

१५ जेठ, खलङ्गा । जुम्लाको हिमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमद्वाारा आर्थिकावस्था कमजोर भएका १६१ जनालाई कामसहित रोजगारी दिएको छ । गाउँपालिकाका विभिन्न वडामा आरसिसी, गोरेटो बाटो, सिँचाइ कुलो, ढल निकास र कृषि सडक निर्माणको काम दिएको तथा गाउँपालिकाले तयार पारेको तथ्यांकअनुसार अतिविपन्न र बेरोजगारलाई जारी बन्दाबन्दीका समयमा काम दिएको गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलले बताए ।

लामो समयदेखि लकडाउन हुँदा घरखर्च चलाउन गाह्रो भएका अतिविपन्नलाई गाउँपालिकाले रोजगारीको अवसर प्रदान गरेपछि रोजगार कार्यक्रममा आबद्ध मजबुदर खुशी भएको स्थानीयवासी जयबहादुर रोकायाले बताए। प्रधानमन्त्री रोजगारमार्फत खटिएकालाई दैनिक ६६० का दरले पारिश्रमिक प्रदान गरिने गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।

कार्यक्रमका लागि गाउँपालिकाका एक हजार ७८५ रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका छन् । सो कार्यक्रमका लागि सरकारले चालू आर्थिक वर्षमा गाउँपालिकालाई ४२ लाख सशर्त अनुदान दिएको छ । सोही कार्यक्रममार्फत गाउँपालिकामा विभिन्न आयोजना सञ्चालन गरिने गाउँपालिका रोजगार शाखाले जनाएको छ ।
जिल्लाका तातोपानी, कनकासुन्दरी, पातारासी र चन्दननाथ नगरपालिका तथा गुठीचौर गाउँपालिकाबाट अतिविपन्न र बेरोजगारको तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको छ लकडाउनको सास्ती खेपिरहेका नागरिकलाई एक हप्ताभित्र कामसहितको रोजगारी दिइने तातोपानी गाउँपालिकाका रोजगार संयोजक सरिता शर्माले बताए ।
गत फागुन ८ गते १५ दिने सूचना प्रकाशन गरी रोजगार संयोजकको विज्ञापन गरेको तिला गाउँपालिकाले रोजगार संयोजकको परीक्षा गर्न नसक्दा गाउँपालिकामा रोजगार संयोजक नहुँदा रोजगार कार्यक्रम प्रभावित भएको र कोरोना भाइरस अन्त्य भएपछि रोजगार संयोजकको छनोट प्रक्रिया अघि बढ्ने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जंगबहादुर बस्नेतले बताए ।

भारतबाट भित्रिने बढ्दै
भारतबाट जुम्ला भित्रिनेको संख्या प्रतिदिन बढ्दै गएको छ । सोमबार र मंगलबार मात्रै १०० जना क्वारेन्टिनमा बसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले भारतबाट नेपाल फर्कन चाहनेलाई ल्याउन थालेपछि यहाँ संख्या बढेको हो । जिल्लाभरका क्वारेन्टिनमा ६४ जना रहेकामा दुई दिनयता बाहिरबाट आएकाको संख्या बढेको जनस्वास्थ्य सेवा कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए । क्वारेन्टिनमा बसेकामध्ये ९० प्रतिशत मानिस भारतबाट फर्किएका छन् । जिल्लामा ४३६ शय्याको क्वारेन्टिन रहेकामा एक हजार पु¥याइने योजनाका साथ अहिले काम भइरहेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।