राजनीति

गणतन्त्र नचाहने ओली सरकारका कारण मुलुकको विकाश हुन सकेनः डा भट्टराई

१५ जेठ काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गणतन्त्र नचाहने ओली सरकारका कारण मुलुकको विकाश हुन नसकेको बताएका छन् । १३ औं गणतन्त्र दिवशको शुभकामना दिँदै डा.भट्टराईले गणतन्त्र ल्याउनु भनेको ठेलगाडा चढेर अमेरिका जान्छु भन्नु जस्तै हो’ भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री केपीशर्मा ओलीको हातमा सत्ता पुगेको तर्फ व्यंग्य गर्दै यस्तो बताएका हुन् ।

उनले अक्सर क्रान्तिपछि क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्दै निरन्तर अग्रगति र प्रगतिको दिशामा अघि बढ्न सच्चा गणतन्त्रवादी क्रान्तिकारीहरूको हातमा सत्ताको नेतृत्व हुनुपर्नेमा त्यसो नभई गणतन्त्रको स्थापना नचहनेको हातमा सत्ता आएको टिप्पणी गरेका छन् ।

डा भट्टराईले गणतन्त्र अनुकूल राज्यका अन्य अंगहरूको लोकतान्त्रीकरण हुन नसकेको भन्दै आर्थिक–सामाजिक रूपान्तरण अपेक्षित रूप र गतिमा हुन नसकेको बताएका छन् । उनले दशौं हजार नेपाली जनताको वलिदानी संघर्षबाट प्राप्त गणतन्त्र दिवसको उपलक्ष्यमा देशविदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाज्यूभाइहरूमा शुभकामना पनि व्यक्त गरेका छन् ।

उनले गणतन्त्रलाई सबैको घरदैलोमा पुर्याउने काम अझै बाँकी रहेको, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको काम बाँकी रहेकाले जनतामा निराशा र आक्रोश बढ्दैछ बताएका छन् । यी कमजोरीहरू सच्याउन ढिलोचाँडो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद सहितको शासकीय प्रणालीमा जानैपर्नेमा उनले जोड दिएका छन् ।