समाचार

रोकथाम र उपचारमा खटिने सबैलाई उच्च मनोबलका साथ खट्न डा कोईरालाको आग्रह

१५ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.सशांक कोईरालाले कोरोना रोकथाम र उपचारमा खटिने सबैलाई उच्च मनोबलका साथ खट्न आग्रह गरेका छन् ।

१३ औं गणतन्त्र दिवशको अवसरमा शुभकामना दिँदै डा.कोईरालाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोबिड १९) का कारण मानव जातिले नैं त्रासदीपूर्ण संकट झेलिरहेको अवस्थामा रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिने सम्पूर्णको उच्च प्रशंसा गर्दै जो जहाँ छौ उच्च मनोबलका साथ सुरक्षित रहन समेत अनुरोध गरेका छन् ।

दिवशको शुभकामना दिँदै डा.कोईरालाले जनताको लामो संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूतिका लागि सरकार जनताप्रति थप उत्तरदायी वन्न सक्नुपर्नेमा जोड दिएका छन् । साथै उनले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका छन् ।

लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास ड कोईरालाले व्यक्त गरेका छन् । यस्तै लोकतन्त्र दिवसको अवसरमा लोकतन्त्र प्राप्तीका आन्दोलनहरुमा जिवन उत्सर्ग गर्ने वीर शहिदहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।