साहित्य

छट्टु

                                       -डा सुरेन्द्र सिटौला                                           -कविता
                                                                           

छट्टु रछ उ
जवानीको आस देखाएर
बाल्यकालको बेहोसी लुट्यो
बेहोसीको सौदाबाजी पछि
उ म सग कतै छुट्यो
होसको कोसेलीमा भुल्याएर
बेहोसीको परमानन्द लुट्यो
जवानीको चौतारीमा
बालापनको झोली छुट्यो
बैसको मदहोसिमा
यौवनको घैला फुट्यो
दुःख लाग्छ फर्की हेर्दा
ईश्वर सग नाता टुट्यो
छट्टु रछ निक्कै बाठो
लुट्न सम्म मलाइ लुट्यो ।

कर्मको डगर हुँदै
पसिनाको रहर कुदयो
तृष्णाको बगरमा
बाटो खोज्दै उमेर छुट्यो
सपनाको मधु–प्याला
प्युन बाकी हुँदै फुट्यो
जीवनको मधुशाला
पुग्ने बाटो कतै छुट्यो
लाग्छ अब ईश्वर सग
बात मार्ने नाता टुट्यो
फसाएर मेरो इच्छा
छट्टु एक्लै अन्तै कुदयो 

आउँछ छट्टु हौस्याउदै
मायालुको माया जस्तो
कर्म संसार ब्युझाउने
बसन्तको छाया जस्तो
फुल सग प्रीति गास्ने
भ्रमराको माया जस्तो
ऎना भित्र मुस्कुराउने
सुन्दरीको छाया जस्तो 

निराकार चैतन्यको
साकार मुर्ती देखाएर
लुट्न सम्म लुट्यो उसले
फर्जी मन्त्र सुनाएर
मदहोसी युद्ध लड्ने
कर्म उसले सिकाएछ
जवानीमा यौवनको
ककटेल सगै मिसाएछ
कष्टपुर्ण मेरो यात्रा
आफै सग रिसाएछ 

देखिदैन छट्टु कतै
लुकि लुकि कर्म गर्छ
धर्म अर्थ काम क्रोध
मै हु भन्दै गर्व गर्छ
तेरो छट्टु मै हु भन्दै
नियतिले गोप्य खोल्छ
यसरी नै पुस्तौ पुस्ता
छट्टु सगै भाग्य खेल्छ ।

हरि ॐ तत्सत