समाचार

रुकुम घटना मानवताविरोधी हो, कडा कारबाही हुनुपर्छः बरिष्ठ नेता पौडेल

१५ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रुकुम घटना मानवताविरोधी भएकाले घटनामा संलग्नलाई कडा कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।

सुर्य खबरसंग कुरा गर्दै वरिष्ठ नेता पौडेलले रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय विवाहलाई लिएर दलित वर्गका युवा माथि गरिएको साङ्घातिक आक्रमणमा परि कैयौं व्यक्तिको ज्यान जानु र कैयौं व्यक्ति भेरी नदिमा हालिएर बेपत्ता पारिनु एक्काइसौं शताब्दीको मानवतालाई नै लज्जित पार्ने घटना भएको बताएका छन् ।

शनिबार रुकुमको चौरहजारी नगरपालिका सोतीमा अन्तर्जातीय विवाह गर्न खोजेको निहुँमा गाउँलेको आक्रणममा परी चारजना युवाले ज्यान गुमाएका छन् भने दुईजना अझै बेपत्ता छन् ।

जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विक सोतीकी मल्ल थरकी आफ्नी प्रेमिका भगाउन साथीहरु लिएर गएकोबेला उनीहरुमाथि आक्रमण गरिएको थियो । आक्रमणमा नवराजको पनि मृत्यु भएको छ । उक्त घटनाको अहिले चौतर्फि बिरोध भईरहेको छ । नेता पौडेलले उक्त घटनाले कतिको प्रगतिशील मुकुन्डो उघारिएको टिप्पणी गरेका छन् ।