समाचार

तेह्रौँ गणतन्त्र दिवसः राष्ट्रपति र उप–राष्ट्रपतिले दिए शुभकामना

१५ जेठ काठमाडौं । १३औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र उप–राष्ट्रपतिले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेकी छन् । गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उनले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वानसमेत गरेकी हुन् ।

अपार जनसहभागितामा सञ्चालित ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप स्थापित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आए पनि यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम आयोजना गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गरेकी छिन् ।

“आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरुलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

सदाकाल स्वाधिन राष्ट्रका रुपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्याउने पूर्वजहरुको योगदानको स्मरण गर्दै उनिहरुको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन राष्ट्रपतिले हार्दिक आह्वान गरेकी छिन् ।

निकै लामो सङ्क्रमणकालपश्चात् राजनीतिक स्थिरता र दिगो शान्ति कायम भएको वर्तमान परिवेसमा नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन सम्पूर्ण राजनीतिक दलहरु तथा आमजनतामा उनले हार्दिक आह्वानसमेत गरिन् ।

राष्ट्रपति भण्डारीले नोबल कोरोना भाइरसको सङ्क्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने सवै नेपालीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छिन् । उनले सङ्क्रमित विरामीहरुको स्वास्थ्यलाभको कामना गरेकी छिन् । ऐतिहासिक दिवसले सबै नेपालीहरुलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने राष्ट्रपति भण्डारीले शुभेच्छा प्रकट गरेकी छिन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड–१९ नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताएका छन् । गणतन्त्र दिवस–२०७७ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले गर्दै आएको प्रयासलाई अझै प्रभावकारी बनाउँदै लैजान आग्रह गरेका छन् ।

गणतन्त्रलाई अझै समृद्ध बनाउनु आवश्यक रहेको भन्दै उपराष्ट्रपतिले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । “गणतन्त्र प्राप्तिका लागि हामीले जसरी एकताबद्ध भएर सङ्घर्ष गर्यौँ, हाम्रो भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रियताको रक्षा र सुदृढीकरणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्नेछ”, उपराष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, “गणतन्त्र दिवस–२०७७ ले हाम्रो राष्ट्रियताको रक्षा तथा सुदृढीकरण र कोरोना भाइरस रोकथामका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास लिएको छु ।”

सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था गणतन्त्रसँगै नेपाली जनताले प्राप्त गरेका प्रमुख राजनीतिक उपलब्धि भएको उल्लेख गर्दै उनले यी उपलब्धिमा टेकेर देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ देश समुन्नती र समृद्धिको मार्गमा द्रुत्ततर गतिमा अगाडि बढिरहँदा विश्वव्यापी महामारीको रुपमा आएको कोरोना भाइरस ९कोभिड–१९० ले निकै अप्ठ्यारो पारेको बताएका छन् ।

गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनमा जीवन वलिदान दिनुहुने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपराष्ट्रपतिले सङ्घर्षका क्रममा घाइते भएका योद्धाको स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । सङ्घर्षका क्रममा बेपत्ता भएकाप्रति सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले बेपत्ताको अवस्था छिट्टै सार्वजनिकीकरणका लागि सबैको ध्यान जाने विश्वास व्यक्त गरेका छन् ।