गण्डकी प्रदेश

बन्दाबन्दीले देशकै दोस्रो ठूलो खानेपानी सुदृढीकरण आयोजना ठप्प

१४ जेठ, कास्की । कोभिड–१९ को सङ्क्रमण रोक्न देशव्यापी जारी बन्दाबन्दीले पोखरामा निर्माणाधीन देशकै दोस्रो ठूलो खानेपानी सुुदृढीकरण आयोजनाको काम रोकिएको छ ।

जापान सरकारको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा पाँच अर्ब लागतमा पोखरामा लगानीका हिसाबले मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी आयोजना सुदृढीकरणको काम धमाधम भइरहेकामा बन्दाबन्दीपछि आयोजनाको सम्पूर्ण काम ठप्प भएको हो ।

खानेपानी संस्थानबाट सञ्चालित र जापानी अन्तरर्राष्ट्रिय सहयोग नियोग (जाइका) अन्तर्गत निर्माण भइरहेको सो परियोजनाबाट हाल पोखरामा खानेपानी आपूर्ति भइरहेको मर्दीखोलाको पानी प्रशोधन गर्ने तथा थप वितरण लाइन निर्माणको योजना छ ।

हाल अप्रशोधित पानी उपलब्ध भइरहेकामा सो आयोजना सम्पन्न भएपछि यसले समेटेको क्षेत्रमा २४सै घण्टा राष्ट्रिय खानेपानी गुणस्तरअनुसारको प्रशोधित पानी उपलब्ध हुने खानेपानी संस्थानले जनाएको छ ।

सो आयोजनाको गत वर्ष जेठमा सङ्घीय सरकारका खानेपानीमन्त्री बिना मगरले पोखरा–१९ पुरुनचौरमा शिलान्यास गरेपछि कामले तीव्रता पाएको थियो । आयोजनाको निर्माणकार्य जापानी निर्माण कम्पनीले नै अघि बढाएको हो । खानेपानी संस्थानका इञ्जीनियर सन्तोषकुमार दासले लकडाउन आह्वानपछि निर्माणमा परिचालित सबै मजदुर घर फर्किएको र काम ठप्प भएको बताए ।

हालसम्म समग्रमा २४ प्रतिशत कार्य प्रगति भए पनि लकडाउनले गर्दा निर्धारित मितिभित्रमै आयोजना सम्पन्न गर्न बाधा पु¥याएको उनको भनाइ छ । “यसअघि हाम्रो लक्ष्यभन्दा पनि माथि काम भए पनि दुई महिनायता आयोजनाको सबै काम रोकिएको छ । लकडाउन नखुलेसम्म काम शुरु हुने अवस्था छैन । यसबाट हाम्रो लक्ष्य घट्ने भयो”, इञ्जीनियर दासले भने । प्रशोधन केन्द्र र पाइप लाइन विस्तार गरी दुई खण्डमा आयोजनाको काम अघि बढेको थियो ।

उनका अनुसार पोखरावासीले पिउने पानीको प्रमुख स्रोत रहेको मर्दीखोलाको पानी शुद्धीकरणका लागि मुहान नजिक दैनिक चार करोड लिटर क्षमताका बालुवा हटाउने ट्याङ्की निर्माण गरिनेछ । मुहान नजिक ग्रिड च्याम्बर र पानी थिग्र्याउने (सेडिमेन्टेशन ट्याङ्क) को काम शुरु भएलगत्तै काम रोकिएकाले यसमा खासै प्रगति हुन नसकेको बताइन्छ ।

ग्रिड च्याम्बरबाट शुद्धीकरण गरिएको पानीलाई पुरुनचौरमा थप शुद्धीकरणका र प्रशोधन गरिनेछ । चार करोड लिटरकै चार पानी थिग्र्याउने ट्याङ्की तथा छ पानी छान्ने फिल्टर, दुई सफा पानी सङ्कलन गर्ने ट्याङ्की (स्लोस स्याण्ड फिल्टर) र क्लोरिनेसन प्लान्ट निर्माणको काम भइरहेको छ । स्लोस एण्ड फिल्टरको ६० प्रतिशत काम सम्पन्न भएको इञ्जीनियर दासले जानकारी दिए ।

पोखरामा हाल आपूर्ति भइरहेको पानी बिनाप्रशोधन उपभोक्ताको घरसम्म पुग्ने गरेकामा आयोजना सम्पन्न भएपछि धारामा शुद्ध पिउने पानी आपूर्ति हुनेछ । बर्खायाममा नदीमा बाढी आउँदा पोखरामा आउने पानीसमेत दूषित हुने गरेको छ । बजारमा आपूर्ति हुने खानेपानी भण्डारण गर्न २० लाख लिटर क्षमता तीन पानीट्याङ्की पोखराको फूलबारी, प्रस्याङ र कोलपाटनमा निर्माण गरी त्यसमार्फत बजारका विभिन्न भागमा वितरण गर्ने योजनाअनुसार काम भइरहेको छ ।

फूलबारीमा निर्माण गर्न लागिएको अन्डरग्राउन्ड ट्याङ्कीको हालसम्म ८० प्रतिशत तथा कोलपाटनको ओभरहेड ट्याङ्कीको २० प्रतिशत काम सकिएको छ । प्रस्याङमा फाउन्डेशनको काम शुरुभएसँगै रोकिएको थियो । बजारमा कूल ९६ किमी पाइपलाइन विस्तार योजनाअन्तर्गत एक वर्षको अवधिमा १४ किमी पाइप जडान गरिसकिएको बताइन्छ ।

जापान सरकारको रु चार अर्ब ८१ करोड ३० लाख अनुदान सहयोगमा सन् २०१७ को फेब्रुअरी १५ मा सो आयोजनासम्बन्धी सम्झौता भएको थियो । सन् २०२२ को अन्त्यसम्ममा निर्माण गरी सक्ने गरी खानेपानी सुधार आयोजना अघि बढेको हो । आयोजना निर्माणपछि पाइपलाइनमा पानीको चापमा सुधार भइ पानी चुहावट नियन्त्रण भइ आपूर्तिमा सुधार भएर महानगरको १ देखि १९ वडाका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या लाभान्वित हुने अपेक्षा गरिएको छ । संस्थानका अनुसार पोखरामा २४सै घण्टा सहज आपूर्तिका लागि दैनिक छ करोड ५० लाख लिटर पानी आवश्यक पर्ने गरेकामा हाल चार करोड हाराहारीमा मात्र आपूर्ति हुने गरेको छ ।