पु.समाचार

रुकुमपश्चिमको हत्याकाण्डलाई राजनीतिकरण नगर्न सांसदको आग्रह

१४ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानबिनको माग गरेका छन् । बैठकको शून्य समयमा सांसदले सो घटनालाई राजनीतीकरण नगर्न र मृतकलाई सामाजिक शहीद घोषणा गर्न पनि माग गरे । सांसद मीन विश्वकर्माले स्थानीय प्रशासन र प्रहरीको लापर्वाहीले घटना भएको बताए।

सांसद विमला नेपालीले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा भएको घटनामा मृत्यु भएकालाई सामाजिक शहीद घोषणा गरी घटनाको संसदीय छानबिन गर्न माग गरे । सांसद मनकुमारी जिसीले रुकुमपश्चिमको घटना पुनः दोहोरिन नदिन आग्रह गर्नुभयो भने सांसद महिन्द्रकुमारी लिम्बूले रुकुमपश्चिमको घटनाको छानबिनका लागि सर्वदलीय समिति गठन गर्न माग गरे ।

सांसद यशोदा सुवेदी गुरुङले सो घटनालाई राजनीतीकरण नगर्न माग गरे । सांसद लक्ष्मी परियारले रुकुमपश्चिममा भएको जातीय विभेद र नरसंहारको घटनामा संविधान र कानूनको किन प्रभावकारी कार्यान्वयन भएन भनी प्रश्न गरे ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीका घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्याको घटना भएको थियो । नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीका घरमा गएका अन्य दुई जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य तीन जना बेपत्ता छन् ।

भूमि अतिक्रमणविरुद्ध एकमत

बैठकमा सांसद डा मीनेन्द्र रिजालले संविधान संशोधनका लागि सर्वदलीय बैठक र समझदारी बढ्नु सकारात्मक भए पनि त्यस्ता बैठकमा भएका निर्णय संसद्लाई जानकारी दिने परम्परा शुरु गर्न आग्रह गरे ।

सांसद मोहन बानियाँले अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा जारी भएकामा खुशी व्यक्त गर्दै वार्ताबाट भूमि फिर्ता ल्याउन आग्रह गरे । सांसद मीना सुब्बाले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन खुट्टा नकमाउन सरकारसँग आग्रह गरे । सांसद रामबहादुर विष्टले भारतीय स्वतन्त्रता सङ्ग्राममा नेपालीले दिएको योगदानलाई बिर्सेर भारतले नेपाली भूभागमा अतिक्रमण गर्नु दुःखको विषय भएको बताए ।

सांसद रेखा शर्माले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको नक्सामा समावेश गरेकामा सरकारलाई धन्यवाद दिँदै कूटनीतिक वार्ताबाट भूमि फिर्ता गर्न आग्रह गरे । सांसद रेनुका गुरुङले सुगौली सन्धिका आधारमा नेपालको भूभागमा भारतले अतिक्रमण गर्नु दुःखद् भएकाले ग्रेटर नेपाललाई कायम राख्ने गरी पहल गर्न माग गरे ।

बैठकमा सांसद मातृकाप्रसाद यादवले कोरोना सङ्कटको दीर्घकालीन व्यवस्थापन गर्न आग्रह गरे । सांसद राजेन्द्रप्रसाद गौतमले बन्दाबन्दीको अवधि थपिँदै जाँदा खाने वर्ग बढी प्रभावित भएकाले ती वर्गका लागि विशेष कार्यक्रम ल्याउन माग गरे । सांसद विमला विकले तराईका क्षेत्रमा भारतबाट फर्केकालाई अनिवार्य परीक्षण र बर्दियामा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न माग गरे ।

सांसद भरतकुमार शाहले धानको बीउ राख्ने समयमा सहजरुपमा किसानले बीउ प्राप्त नगरेको गुनासो गरे । सांसद भीमसेनदास प्रधानले काठमाडौँ बाहिरबाट आउनेलाई उचित जाँच गरी क्वारेन्टिनमा राख्न सुझाव दिए । सांसद भैरवबहादुर सिंहले भारतमा रहेका नेपालीलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको उपयुक्त व्यवहार नगरेको बताए । सांसद विमलप्रसाद श्रीवास्तवले भारतमा अलपत्र परेकालाई स्वदेश ल्याउन माग गरे ।

बैठकमा भवानीप्रसाद खापुङ, महेश्वरजङ्ग गहतराज, यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, रङ्गमति शाही, नवीन्द्रराज शर्मा, राजबहादुर बुढा क्षेत्री, राजेन्द्रकुमार केसी, रेखा कुमारी, लक्ष्मीकुमारी चौधरीलगायतले जनजीवनका विभिन्न सवालमा सरकारलाई ध्यानाकर्षण गराएका थियो ।