समाचार

भारतबाट फर्किएका युवकको मृत्यु

१४ जेठ काठमाडौं । भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो ।

मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पुर्याइएको थियो । अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताएका छन् ।

“राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ”, डा पौडेलले भने ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिएका छन् । आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो ।