प्रदेश 2

एक वृद्धको हत्या आरोपमा छोरा पक्राउ

सर्लाही, १३ जेठ । सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् ।

आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको हत्या भएको उनले बताए । घरेलु हतियारले वृद्धको टाउको र हातमा प्रहार गरी हत्या गरिएको छ । बुबालाई हत्या गरेको आरोपमा मृतकका कान्छो छोरा ४० वर्षीय विनोद रायलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा खाटमुनि लुकेको अवस्थामा आज बिहान विनोदलाई पक्राउ गरिएको बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले जानकारी दिएका छन् । जग्गा जमिनको विषयलाई लिएर आफ्नो कान्छो भाइ मदिरा सेवन गरेर पटक–पटक बुबालाई गाली बेइज्जती र कुटपिट गर्दै आएको मृतका जेठो छोरा रामविश्वास रायले जानकारी दिएका छन् ।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाको टोली पुगेर शवलाई जिल्ला अस्पताल मलङ्गवमा शव परीक्षणका लागि लगिने तयारी भइरहेको गापा अध्यक्ष रायले जानकारी दिएका छन् । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरलले जानकारी दिएका छन् ।