शिक्षा

दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चित

school-1_closed till up-nirwacahn

मनाङ, १४ जेठ । दुर्गम क्षेत्रका बालबालिका छ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम परीक्षा सकेर नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले करिब छ महिनादेखि उनीहरु विद्यालयको पहुँच बाहिर छन् ।

हुन त मुलुकभरका बालबालिका हाल विद्यालय शिक्षाबाट पूर्णरूपमा बञ्चित छन् तर हिमालपारिको जिल्ला मनाङमा गत मङ्सिर मसान्तदेखि विद्यालयको अन्तिम परीक्षा सकेपछि नै मारमा छन् । बन्दाबन्दीले अहिले अझ उनीहरु थप प्रभावित बनेका छन् । कोरोना भाइरसको महामारीले गर्दा मुलुकभर शिक्षा क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको अवस्थामा अझ बढी दुर्गम क्षेत्रमा परेको छ ।

केही साना बालबालिकाले विद्यालय नै बिर्सिसकेका छन् । यसले जिल्लाको माथिल्लो भेगका बालबालिका झण्डै छ महिनादेखि विद्यालयको पहुँचभन्दा टाढा भएका हुन् । जिल्लाभर २८ विद्यालय छन् भने यस जिल्लामा करिब ६०० भन्दा बढी बालबालिका विद्यालय जाने गरेका थिए ।

जम्मा चार गाउँपालिकामा रहेको यस जिल्लामा माथिल्लो भेगमा ११ विद्यालय छन् । चामे गाउँपालिकामा पाँच, नार्पाभूमि गाउँपालिकामा दुई र नासों गाउँपालिकामा ११ विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ । हाल चामे गाउँपालिकाले भने पाँच विद्यालयलाई आवासीय विद्यालयमा रुपान्तरण गरी पालिकामा दुई विद्यालय गाभेर सञ्चालन गरिएको छ ।

त्यस्तै नासों गाउँपालिकाले पनि प्रकाशज्योति माविलाई आवासीय विद्यालय बनाइएको र पालिकामा दुई माध्यमिक छन् । त्यसैगरी नौ आधारभूत विद्यालय रहेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । उनका अनुसार विद्यालयहरु २०७६ पुसको दोस्रो सातादेखि बन्द भएको र नयाँ शैक्षिकसत्र शुरु हुँदै गर्दा यो महामारीले बन्द हुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको छ ।

सुगम क्षेत्रका र इमेल इन्टरनेटको पहुँचमा रहेका बालबालिका त इन्टरनेटको माध्यमबाट केही अध्यायन गरिहेका छन् तर यी क्षेत्रबाट बाहिर रहेका ती बालबालिकाको शिक्षाले कस्तो रूप लेला सबैमा चिन्ताको विषय बनेको छ । दुर्गम क्षेत्रका बालबालिकाको शिक्षालाई कस्तो व्यवस्था हुने हो हेर्न भने बाँकी नै छ ।