अन्तर्राष्ट्रिय

ब्राजिलबाट अमेरिका आउने गैर–अमेरिकीलाई पूर्व घोषित समयभन्दा दुई दिन पहिल्यै प्रवेश प्रतिबन्ध

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि भन्दै अमेरिकाद्वारा मङ्गलबारदेखि ब्राजिलबाट अमेरिका आउने गैर–अमेरिकीलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले यस पहिले गरेको निर्णयमा ब्राजिलबाट अमेरिका प्रवेशमा बिहीबारदेखि प्रतिबन्ध लगाउने बताइएको थियो । यो निर्णय अमेरिकी नागरिकका लागि भने लागु नहुने अमेरिकाले जनाएको छ ।

व्हाइट हाउसले स्थानीय समय अनुसार सोमबार आफ्नो पूर्व निर्णयमा परिवर्तनको घोषणा गरेको हो । जोन्स हकिन्स युनिभर्सिटीको तथ्याङ्क अनुसार ब्राजिल कोरोना भाइरस सङ्क्रमणका हिसाबले अमेरिका पछि दोस्रो स्थानमा रहेको छ ।

ह्वाइट हाउसले ब्राजिलको स्थिति ल्याटिन अमेरिकाको सबैभन्दा बढी प्रभावित देशको रूपमा आइतबार बताएको छ । यो प्रतिबन्धको घोषणाले अमेरिकामा थप सङ्क्रमितको सङ्ख्यालाई नियन्त्रण गर्न मद्दत गर्ने अमेरिकाको विश्वास छ । प्रतिबन्ध अमेरिकी नागरिक वा कानूनीरूपमा स्थायी बासिन्दाका रूपमा प्रमाणित विदेशी नागरिक र उनीहरूका पति, पत्नी, आमाबाबु तथा बच्चाहरूमा लागू हुँदैन ।

अमेरिकामा मङ्गलबारसम्ममा विश्वकै सबैभन्दा बढी १७ लाख आठ हजार २६५ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ भने ब्राजिलमा विश्वकै दोस्रो धेरै तीन लाख ७६ हजार ६६९ सङ्क्रमित रहेका छन् ।

विश्वमा धेरै सङ्क्रमण भएका अन्य मुलुकहरूमा रूसमा तीन लाख ६२ हजार ३४२, स्पेनमा दुई लाख ८२ हजार ४८०, बेलायतमा दुई लाख ६१ हजार १८४, स्पेनमा दुई लाख ३० हजार १५८ र फ्रान्समा एक लाख ८२ हजार ९४२ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।