राजनीति

सरकार घटक नेकपाका वडाध्यक्ष सम्म्लित रुकुम हत्याकाण्ड झनै चिन्ताजनकः अध्यक्ष मिश्र

३ जेठ, काठमाडौं । साझा पार्टीले रुकुम पश्चिममा आफ्नो प्रेमिकासँग बिहे गर्न गएका भनिएका एकजना दलित युवा नवराज विश्वकर्मा र उनका दुईजना साथीहरूको हत्या भएको घटना मानवताविरुद्धको बर्बर र नृशंस अपराध भएको बताएको छ ।

संयोजक मिश्रद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सत्तारूढ दलको वडा अध्यक्षसमेत आक्रमणमा संलग्न भएको समाचार झनै चिन्ताजनक छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको त छ, तर घटनालाई सामसुम पार्न राजनीतिक सकृयता बढेको चर्चा चलिरहँदा छानबिन समिति राजनीतिक प्रभावबाट मुक्त होस् भनी साझा पार्टी खबरदारी गर्दछ।’

पछिल्लो यो लगायत मुलुकका अन्य क्षेत्रमा पनि बारम्बार भइरहने दलितविरुद्धको भेदभावले नेपालको संविधानले न्यायपूर्ण, भेदभावरहित र समावेशी समाजको परिकल्पना गरे पनि गाउँ–गाउँसम्म आफ्नो प्रभुत्व र प्रभाव रहेका राजनीतिक दलहरू र समाजका अगुवाहरूले जातीय भेदभावको मध्ययुगीन पाशविक कृत्यलाई हटाउन नसकेको स्पष्ट संकेत गर्ने पार्टीले जिकिर गरेको छ ।

रुकुम पश्चिममा आफ्नो प्रेमिकासँग बिहे गर्न गएका भनिएका एकजना दलित युवा नवराज विश्वकर्मा र उनका दुईजना साथीहरूको हत्या भएको घटना मानवताविरुद्धको बर्बर र नृशंस अपराध हो। सो घटनामा थप पाँच जना बेपत्ता भएको र पाँच जना घाइते भएको बताइएको छ।

साझा पार्टीले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्नको लागि संवैधानिक र कानूनी व्यवस्था गरेरमात्र नपुग्ने बताउँदै त्यसको प्रभावकारी, व्यवहारिक कार्यान्वयनका लागि उपयुक्त संयन्त्रको निर्माण गरियोस्, दोषीमाथि कडाभन्दा कडा सजायँको स्पष्ट व्यवस्था गरियोस् र राष्ट्रियस्तरमै सामाजिक सचेतना कार्यक्रमहरू सुरु गरोस् भनी साझा पार्टी जोडदार माग समेत गरेको छ ।

अध्यक्ष मिश्रले भनेका छन्, ‘साझा पार्टी छुवाछुत तथा जातीय विभेदविरुद्ध शुन्य सहनशीलतामा विश्वास गर्दछ र आफ्ना सदस्यहरु लगायत आम सर्वसाधारणलाई अग्रपंक्तिमा रहेर विभेदविरुद्ध काम गर्न आग्रह गर्दछ।’