गण्डकी प्रदेश

कोरोना भाइरससँग जुध्दै अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड

१३ जेठ, पोखरा । गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यहरूले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँग जुध्दै अर्थतन्त्रलाई चलायमान हुने किसिमका कार्यक्रम ल्याउन जोड दिएका छन्।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीले अर्थतन्त्र तहसनहस भएको बताउँदै सदस्यहरूले चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउने किसिमका कार्यक्रम ल्याउनुपर्ने माग गरे। प्रदेशसभा सदस्य ओमकला गौतमले सरकारले विभेदरहित न्यायोचित बजेट विनियोजन गर्न सक्नुपर्ने बताउँदै अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सुरक्षामा खटिने सबैको कोरोना विमाको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।

कोरोना भाइरसका कारण समस्यामा परेका सर्वसाधारणलाई राहतको साटो रोजगार व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए। प्रदेशमा कोरोनाको पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै गौतमले बन्दाबन्दीको व्यावहारिक व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए। सामाजिक दूरी कायम गर्दै घरको एक जनाले रोजगारी पाउने गरी व्यवस्थापन गर्न उनले माग गरे ।

अर्का सदस्य खिमविक्रम शाहीले छिमेकी मुलुक भारतमा रहेका नेपालीका साथै तेस्रो मुलुकमा भएका नेपाली नागरिकको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मी नेपालको सीमा समेटेर नक्सा प्रकाशन गरेकोप्रति संघ सरकारलाई आभार व्यक्त गरे । स्याङ्जाको वालिङमा क्वारेन्टिनमा रहेका व्यक्तिमा सङक्रमण देखिएपछि आइसोलेशनमा राखिएको बताउँदै उनले सङ्क्रमितको उपचारमा विशेष ध्यान दिन आग्रह गरे। वालिङ अस्पतालाई व्यवस्थित बनाउँदै त्यहाँ पीसीआर परीक्षणको व्यवस्था गर्न पनि उनले माग गरे ।

अर्का सदस्य धनमाया पोखरेल लामाले कोरोना भाइरसको बढ्दो सङ्क्रमणसँगै जारी बन्दाबन्दीले ठूलो क्षति भइरहेको बताउँदै दैनिक ओरालो लागेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने धारणा राखे । कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको उचित व्यवस्थापन गर्नुपर्ने बताउँदै उनले स्वास्थ्य बीमा प्रभावकारी बनाउन माग गरे ।

प्रदेशसभा सदस्य जुनादेवी नेपालीले जात, भाषा र वर्गका आधारमा गरिने हिंसात्मक गतिविधि बढेको बताउँदै हालै चौरजहारीमा भएको घटनाको ध्यानाकर्षण गराउ। प्रदेशसभा सदस्य मीना गुरुङले कोरोनाको रोकथाम र नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तह सबैको सामूहिक प्रयास हुनुपर्ने उल्लेख गरे । त्यस्तै प्रदेशसभा सदस्य विन्दुकुमार थापाले क्वारेन्टिन व्यवस्थित नहुँदा यी रोग फैलाउने केन्द्रका रुपमा देखिन थालेको बताउँदै यसको उचित व्यस्थापन हुनुपर्नेमा जोड दिए। कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउनु आवश्यक रहेको उनको भनाइ थियो । प्रदेशसभा सदस्यहरू प्रभा कोइराला र राजीव पहारीले वर्तमान ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक नेपालमा फिर्ता गर्ने गरी नक्सा प्रकाशन गरेको प्रति आभार व्यक्त गर्दै एकताबद्ध रुपमा यसलाई निष्कर्षमा पुर्‍याउनुपर्ने धारणा राखे ।

आत्मनिर्भरतातर्फ जोड दिनुपर्ने बताउँदै उनीहरूले तरकारी तथा फलफूलमा आत्मनिर्भर हुने गरी कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरे ।

वातावरण संरक्षण गर्न बनेको विधेयक पारित

आजको बैठकले वातावरण संरक्षण गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रस्तुत गर्नुभएको विधेयक सभाले सर्वसम्मत पारित गरेको हो ।

विधेयक माथिको दफावार छलफलमा बोल्दै सदस्यहरूले बढ्दै गएको वातावरण प्रदूषणले पारिरहेको असरप्रति बेलैमा सजग बन्नुपर्ने बताउँदै विधेयकको प्रभावकारी कार्यान्वयनमा जोड दिए । विधेयक सम्बन्धमा मनकुमारी गुरुङ, इन्द्रलाल सापकोटा, सरिता गुरुङ, पियारी थापा र इन्द्रधारा विष्टले आ आफ्ना धारणा राखे ।

बैठकाा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन सहितको विधेयक सभामा प्रस्तुत गरे भने प्रदेश मामिला समितिका सभापति कृष्ण थापाले समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरे ।