प्रवास

एनआरएनएले बालबालिकालाई नैतिक शिक्षासम्बन्धी पुस्तक प्रकाशन गर्ने

१३ जेठ, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ‘डायस्पोरा’का बालबालिकालाई लक्षित गर्दै नैतिक शिक्षासम्बन्धी पुस्तक प्रकाशन गर्ने भएको छ । सङ्घको नेपाली भाषा प्रवद्र्धन उपसमितिले नेपाली मूलका बालबालिकालाई लक्षित गरी पुस्तक प्रकाशन गर्ने भएको हो । नैतिक शिक्षा पुस्तक तयार पार्न विज्ञलाई जिम्मा दिने निर्णयसमेत गरेको समितिका संयोजक कृष्ण लामिछानेले जानकारी दिए।

संसारका धेरै देशमा नेपाली पुगिसकेको र आफ्ना बालबालिकालाई नेपालको धर्म, संस्कृति, संस्कार अनुसारको शिक्षा दिन जरुरी रहेको निष्कर्ष निकाल्दै एनआरएनएले त्यस्तो शिक्षामा एकरुपता ल्याउन पुस्तक प्रकाशन गर्ने निर्णय गरेको हो । पाठ्यपुस्तक तयारीका लागि सल्लाह सुझाव दिनका लागि विज्ञ तथा इच्छुकलाई आह्वान गर्ने तयारी गरिएको छ । अहिले विभिन्न देशमा रहेका नेपाली समुदायले आफ्नो अनुकूलतामा नैतिक शिक्षाको पाठ्यसामग्री तयार गरेर पठनपाठन गर्दै आएका छन् ।