पु.समाचार

पश्चिम रुकुम घटनाको छानबिनका लागि संसदीय समित गठन गर्न काँग्रेसको माग

१३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पश्चिमरुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले २१औँ शताब्दीमा जातीय हिंसा र नरसंहार हुनु सभ्य समाजका लागि सुहाउँदो विषय नभएको भन्दै सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरे ।

उनले घटनामा बेपत्ता भएकाको खोजी, घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए । नेपालको इतिहासमै ठूलो जातीय नरसंहार भएको उनको भनाइ थियो । “जातीय विभेदको घटनाबाट छ जनाको ज्यान गएको छ । तीन जनाको शव भेटिएको छ भने तीन जना बेपत्ता छन्”, उनले भने, “सरकारले सामान्य घटनामा छानबिन समिति बनाउने गरे पनि जातीय विभेदका कारण भएको घटनामा छानबिन समिति गठन नहुनु दुःखद् छ ।”

स्थानीय जनप्रतिनिधिको रहोवरमा घेराबन्दी गरेर दलित युवामाथि साङ्घातिक हमला गरिएको पाइएको उनले बताए । “दलित युवालाई चार किलोमिटर लखेटेर भेरी नदी किनारमा लगेर हत्या गरिएको छ”, उनले भने, “प्रहरीले घटनाको सत्यतथ्य छानबिन गर्न असहयोग गरेको जस्तो बुझिएको छ, जिल्ला प्रशासन कार्यालयलाई घटनाको छानबिन नगर्न दबाब दिइएको पाइएको छ ।” उनले जाजरकोट घटनाका बारेमा गृहमन्त्रीले संसद्मा जवाफ दिन माग गरे ।

सांसद पार्वतीकुमारी विशुन्खेले पश्चिमरुकुम घटनाले समग्र ६० लाख दलितको आत्मसम्मानमा चोट पुगेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन माग गरे । यस्तै रेणुका गुरुङले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले घटनाको प्रकृति, यथार्थ अध्ययन गर्न जाजरकोट र रुकुमका प्रशासन अन्ततः सक्रियतापूर्वक लागेको आफूले पाएको बताए । स्थानीय पार्टी, सरकार घटनाको सत्यतथ्य छानबिन गर्न जुटेको जानकारी दिए ।

घटनाको छानबिन गर्न कुनै राजनीतिक दबाब हुनै नसक्ने उनको भनाइ थियो । “रुकुममा जातीय विभेदका घटनाको राजनीतिकरण हुँदैन, छानबिन हुन्छ”, जनप्रतिनिधिका हैसियतमा उनले भने । सांसद शर्माले आफ्नो धारणा राख्दै गर्दा नेपाली काँग्रेसका सांसदले आपत्ति जनाउँदै आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । स्थानीय जनप्रतिनिधिको हैसियतले आफूले बोल्न पाउनुपर्ने बताउँदै पूर्वगृहमन्त्रीसमेत रहेका सांसद शर्माले घटनामा राजनीति नगर्नसमेत आग्रह गरे । घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै उनले रुकुमको जनप्रतिनिधिको हैसियले आफूले सहयोग गर्ने बताए ।

काँग्रेसका सांसदको विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गरेका थिए। लगत्तै सभामुख सापकोटाले काँग्रेसका सांसद प्रकाश रसाइलीलाई बोल्ने समय उपलब्ध गराएका थिए । सांसद रसाइलीले घटनाका बारेमा गृहमन्त्रीको जवाफ चाहेको बताउँदै घटनालाई राजनीतिक प्रभावका आधारमा कमजोर बनाउन खोजिएको आरोप लगाए। उनले रुकुमपश्चिम र जाजरकोटका सङ्घीय सांसदसहितको संसदीय छानबिन समिति गठन गर्न माग गरे ।

‘पाँच सदस्यीय समिति गठन’

बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बताए । जाजरकोट र रुकुमपश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानबिनका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरिएको उनले जानकारी दिए ।

समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ । यही जेठ १० गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका¬–८ आउला बस्ने वीरबहादुर मल्लकी छोरी १७ वर्षीया सुष्मालाई भगाई ल्याउनका लागि जाजरकोट भेरी नगरपालिका–४ का मोहन विकका छोरा २१ वर्षीय नवराजसहितको १९ जनाको समूह स्थानीय सोती पुगेको अवस्थामा झगडा भएको थियो । मन्त्री थापाका अनुसार युवतीलाई भगाई लाने क्रममा केटी पक्ष र केटा पक्षका आफन्तबीच झैझगडा हुँदा केटी पक्षकाले केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए । जाजरकोट भेरी नगरपालिका–४ बस्ने केटा पक्षका २१ वर्षीय सुदीप खड्का सामन्य घाइते भएको र केटा पक्षकै पाँच जनालाई अस्थायी प्रहरी पोष्ट रावतगाउँ र सात जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको मन्त्री थापाले जानकारी दिए ।

हालसम्म फेला परेका शव परीक्षणका लागि जाजरकोट अस्पतालमा राखिएको छ । मन्त्री थापाका अनुसार मृतक नवराज विकको शव जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ स्थित भेरी नदीको बीच भागमा फेला परेको, रुकुम पश्चिम चौरजहारी–१ का लामिछाने बस्ने २० वर्षीय टीकाराम सुनारको शव जेठ ११ गते फेला परेको र जाजरकोट भेरी नगरपालिका–४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको छ ।

हालसम्म फेला नपरेकाको खोजी कार्य जारी रहेको छ । मन्त्री थापाका अनुसार भेरी नपा–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको खोजी कार्य जारी रहेको छ । बेपत्ताको खोजीका लागि आवश्यकताअनुसार गोताखोरसमेत परिचालन गरिने उनको भनाइ छ । नवराज विकसहितको समूहमा गएको रुकुमपश्चिम चौरजहारी नगरपालिका–१ का गोपाल बुढाथोकी बीच बाटोबाटै फर्केको, घाइते सुदीप खड्काको मिसन अस्पताल चौरजहारीमा उपचार गरी ‘डिस्चार्ज’ भइसकेको गृहमन्त्रीले जानकारी दिए । केटा पक्षको सम्पर्कमा आएका सबै १२ जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाई सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाइएको मन्त्री थापाले बताए ।

उनका अनुसार युवतीका बुबा बीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र स्वयं युवती सुष्मा, वडाध्यक्ष डम्बर मल्ल, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुनमगर, रमेश मल्लसहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । सामाजिक सद्भाव, जातीय सद्भाव कायम राख्न, शान्ति सुरक्षाको अवस्थालाई मजबुद बनाइराख्न जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुमपश्चिमबाट समन्वयात्मक ढङ्गले काम भइरहेको गृहमन्त्रीले जानकारी दिए ।

सांसदहरु लक्ष्मी परियार, विमला विक, देवप्रसाद तिमिल्सिना, निरादेवी जैरु, सुजाता परियार, आशाकुमारी विक, उमाशङ्कर अरगरिया, विन्दा पाण्डे, खगराज अधिकारी, प्रेम सुवाल, बालकृष्ण खाँड, महेश्वर गहतराज, देवेन्द्रराज कँडेल, मानबहादुर विश्वकर्मा, तेजुलाल चौधरी, अमरेशकुमार सिंह, सरिता गिरी, शरत्सिंह भण्डारी, रामबहादुर विष्ट, विमला नेपाली, दुर्गाकुमारी विश्वकर्मा, दीलेन्द्रप्रसाद बडू, मीनेन्द्र रिजाल, गोपालबहादुर बमलगायतले घटनाको छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका थिए।

जफावमा गृहमन्त्री थापाले सरकार मुलुकमा कानूनी राज्य स्थापना गर्न प्रतिबद्ध रहेको बताए । उनले सरकारले गठन गरेको छानबिन समितिले जतिसक्दो छिटो सत्यतथ्य सार्वजनिक गर्ने बताए । सरकारले सत्यतत्थ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न कुनै कसर बाँकी नराख्ने बताए । सरकारले गठन गरेको छानबिन समितिप्रति आशङ्का नगर्न आग्रह गर्दै उनले घटनामा संलग्नमाथि कडाभन्दा कडा कारबाही हुने प्रष्ट पारे । उनले घटनालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।