पर्यटन/संस्कृति

पर्यटकीय क्षेत्र संसारकोटमा आन्तरिक पर्यटकको भीड

१३ जेठ, गलकोट । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको समयमा पनि बागलुङका महत्वपूर्ण पर्यटकीयस्थल संसारकोटमा आन्तरिक पर्यटकको भीड लाग्न थालेका छन् ।

पर्यटकको भीडसँगै यसले कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि बढाएको छ । बन्दाबन्दीका कारण देशभरका पर्यटकीय गन्तव्यहरु प्रायः सुनसान देखिए पनि अहिले बागलुङ नगरपालिकाको उच्च भागमा रहेको संसारकोटमा आन्तरिक पर्यटकहरुको भीडभाड हुन थालेको स्थानीयवासी बताए । प्राकृतिक, धार्मिक तथा पौराणिक हिसाबले महत्वपूर्ण मानिएको संसारकोट बागलुङ नगरपालिका—७ मा पर्दछ ।

बन्दाबन्दीका कारण फुर्सदमा भएका बजारवासी र गाउँघरकै युवासमेत प्रहरी र जनप्रतिनिधिको आँखा छल्दै घण्टौँ पैदल हिँडेर उक्त स्थानमा पुग्ने र रमाइलो गर्ने गरेका छन् । सदरमुकामबाट तीन घण्टासम्मको पैदल यात्रामा संसारकोट पुग्न सकिन्छ । घुम्नेमात्र होइन, त्यहाँ पुग्नेले झोलामै मदिरा, सिटन बोकेर लैजाने तथा जुवाताससमेत खेल्ने गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

सामुद्रिक सतहदेखि २ हजार ५ सय मिटर उचाइमा रहेको संसारकोट बागलुङका दुई र म्याग्दीको एक गरी धौलागिरीका तीनवटा स्थानीय तहको संगमस्थल हो । यहाँ रहेको प्राकृतिक सुन्दरता, देशका कैयौँ ठाउँहरु देख्न सकिने उचाइका कारण आन्तरिक तथा बाह्य पर्यटकको उपयुक्त गन्तव्य भएो स्थानीयवासी बताउँछन् । बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको संसारकोटको विकासमा तिनै स्थानीय तहले लगानी गर्न सके यहाँ उल्लेखनीय रुपमा पर्यटक भित्रियाउन सकिन्छ । बागलुङ नगरपालिकाकै अग्लो स्थानमा रहेको संसारकोट पञ्चकोट मध्यको एक कोट हो ।

गण्डकी प्रदेशमै ख्याति कमाउन सफल धार्मिक गन्तव्य पञ्चकोटभन्दा माथि पर्छ संसारकोट । गत वर्ष धौलागिरि पर्यटन विकास समिति, बागलुङ पर्यटन विकास समिति, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको आयोजनामा पञ्चकोटदेखि संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरिदेखि बेलढुङ्गासम्म पर्यटकीय पदमार्ग पहिचानका लागि एकदिने पदयात्रा गरेपछि संसरकोटको चर्चा परिचर्चा बढेको छ । संसारकोट हेर्ने भन्दै अहिले दैनिक दर्जनौँ सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।