राजनीति

सरकार देश-विदेशमा रहेका नागरिकको अभिभावक बन्नुपर्छः नेता सिंह

१३ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षद दल नेपाली कांग्रेसका नेता तथा पुर्व महामन्त्री प्रकाशमान सिंहले सरकार देश तथा विदेशमा रहेका नागरिकको अभिभावक बन्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियन २९ औं वर्ष प्रवेश गरेको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै नेता सिंहले स्वदेश तथा विदेशमा रहेका प्रत्येक नागरिकलाई सरकार अभिभावक हो भन्ने वोध हुने गरी काम गर्न पनि अपिल गरेका छन् ।

साथै उनले नेपालको सीमामा अतिक्रमणपछि आफ्नो भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका बेला राष्ट्रियतालाई बलियो बनाउन पनि सबैमा अपिल गरेका छन् । नेता सिंहले कोरोनाको विपत्तिमा सरकारको तर्फबाट अझै ठोस प्रभावकारी जनअपेक्षा अनुरुपका कार्यक्रम ल्याउन पुनः सरकारको ध्यानाकर्षण गराएका छन् । उनले यतिबेला फेरि पनि सबैखाले जटिलतालाई नेपालीहरुको एकता र सहकार्यमा मात्रै परास्त गर्न सकिन्छ भन्ने कुराको हेक्का राखेर अघि बढ्न सबै राजनीतिक दलहरुमा अपिल गरेका छन् ।

मुलकका सामु देखिएका तमाम जटिल विषयमा नेपाल प्रेस युनियनले आफ्नो भूमिकालाई थप प्रखर बनाउँदै यो अति संवेदनशील क्षण मा आफू सुरक्षित रहँदै निरन्तर खबरदारी गरिरहन सकोस् भन्दै स्थापना दिवसका अवसरमा सबै पत्रकारहरूमा शुभकामना व्यक्त गरेका छन् ।

उनले देशमा लोकतन्त्र स्थापना र जनताको हकअधिकारको पक्षमा खेल्दै आएको भूमिकाका लागि नेपाल प्रेस युनियनलाई धन्यवाद पनि दिँदै कोरोना भाइरसको कहरमा पनि आफ्नो पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारहरूलाई सुरक्षित भएर कार्य गर्न आग्रह गरेका छन् । देशमा लोकतन्त्र र जनताका हकअधिकारसहित जनताको बलिदानबाट प्राप्त परिवर्तनका उपलब्धीमाथि अहिले पनि विभिन्न कोणबाट प्रहार शुरू भएको भन्दै यो अवस्थामा नेपाल प्रेस युनियनको भूमिका थप बढेको बताए ।